नेपालको वैदेशिक व्यापार २१ खर्ब २० अर्ब
2022-07-26 17:04:27CRI
Share with:

नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान राखेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ। यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो। सो आर्थिक वर्षमा वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको अनलाइन खबरले लेखेको छ।

वैदेशिक व्यापारमा ९.४३ प्रतिशत निर्यातको हिस्सा रहँदा आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको छ। फलस्वरुप व्यापार घाटा समेत उच्च रहेको छ।

तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। २ खर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ। यसले व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ। यो नेपालको वाषिर्क बजेटकै हाराहारी हो।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रुपैयाँको व्यापार घाटा थियो। सो आवमा आयात १५ खर्ब ३९ अर्बको हुँदा निर्यात १ खर्ब ४१ अर्ब रुपैयाँको भएको थियो।

नेपालले यस वर्ष निर्यातमा नयाँ कीर्तिमान राखेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरी कीर्तिमान राखेको नेपालले आर्थिक वर्ष २०७८/७९ मा भने ४१.७४ प्रतिशत बढी निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस वर्ष निर्यात २ खर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ। यसले व्यापारको हिस्सामध्ये निर्यातको ‘भ्यालू’ १२.३६ प्रतिशतले वृद्धि भएको छ। तर, आयातमा समेत गत आवको तुलनामा २४.७२ प्रतिशतको वृद्धि हुँदा व्यापार घाटामा सुधार हुन सकेन।

यस आवमा नेपालले कुल १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थहरुको आयातमा मात्र पौने ४ खर्ब रुपैयाँ विदेशिएको छ। भन्सार विभागको तथ्यांक अनुसार ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ। नेपालले सबैभन्दा ठूलो व्यापार घाटा समेत यसमै व्यहोर्छ।

नेपालबाट सबैभन्दा बढी निर्यात भएको वनस्पति तेल हो। यस्तो वस्तुको निर्यात ९३ अर्ब ७४ करोड रुपैयाँको हुँदा आयात भने १ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ।
एक वर्षको अवधिमा १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको आइरन तथा स्टील आयात हुँदा ३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। एक वर्षमा सवारी साधन र यसको पार्टपूर्जा आयातमा ९९ अर्ब ४२ करोड रुपैयाँ विदेशिएको छ।

नेपालको सबैभन्दा ठूलो व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यसमा पेट्रोलियम पदार्थको मुख्य हो। एक वर्षमा नेपालबाट भारतमा १ खर्ब ५५ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। यस अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुकका रुपमा निरन्तर रहन सफल भएको छ।

चीनबाट २ खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ८० करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। अमेरिकाबाट ५० अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने १७ अर्ब ९९ करोड रुपैयाँको निर्यात भएको छ।

नेपालले एक वर्षको अवधिमा कूल २६ वटा भन्सार विन्दुबाट आयात-निर्यात गरेको छ। जसमा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट भएको छ। कूल ७ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँको आयात यस नाकाबाट भएको छ। यो कूल वैदेशिक व्यापारको ३६.७८ प्रतिशत हो।

निर्यात समेत यस नाकाबाट ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको छ। यो ४०.२४ प्रतिशत हिस्सा हो। विराटनगरबाट २ खर्ब १२ अर्बको वस्तु आयात हुँदा ५६ अर्ब ८८ करोडको निर्यात भएको छ।

त्रिभुवन विमानस्थलबाट ३२ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा २ खर्ब १० अर्ब रुपैयाँको आयात भएको छ। चोभारस्थित सुख्खा बन्दरगाहबाट ९ करोड ८८ लाख रुपैयाँको सामान आयात हुँदा निर्यात शून्य रह्यो।