रानीपोखरीमा माछा र हाँस पाल्न महानगरको बजेट
2022-07-28 16:22:00CRI
Share with:

काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ। माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ। यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने अनलाइन खबरले लेखेको छ।

यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ। जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ। ८ पुस, २०७८मा ततकालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाकामा हस्तान्तरण गरेको थियो।

प्राधिकरणको अगुवाइमा पुनर्निर्मित रानीपोखरी आफ्नै कार्यकालमा महानगरको स्वामित्वमा फर्किएपनि शहरी विकास तथा भवन निर्माण विभागले केही बाँकी काम अझै गरिरहेको छ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माणको २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नु भएको थियो भने पुनर्निर्माणको जिम्मा सुरूमा महानगरले पाएको थियो। तर आफूखुशी कंक्रिट संरचना बनाउन खोजेपछि प्राधिकरणले बनाएर हस्तान्तरण गरेको हो।