सातवटा आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिने
2022-08-01 19:13:28cri
Share with:

सातवटा आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० का लागि ४१ अर्ब ८५ लाखको बजेट विनियोजन गर्दै सात आन्तरिक विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिने बताएको हो।

प्राधिकरणले महेन्द्रनगर, विराटनगर, नेपालगञ्ज, जुम्ला, रारा, भरतपुर र रामेछापमा नयाँ टर्मिनल भवन निर्माण गर्ने जनाएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० को लागि ४१ अर्ब ८५ लाखको बजेट विनियोजन गरेको छ भने गत आर्थिक वर्षमा ४३ अर्ब ६७ करोड विनियोजन गरेको जनाएको छ। प्राधिकरणको खुद आम्दानी १४ अर्ब ३२ करोड, सरकारको ऋण तथा सेयरबाट १२ अर्ब २४ करोड, सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड, मूल्य अभिवृद्धि फिर्ताबाट ३ अर्ब १ करोड, पेश्की मौज्दात ३ अर्ब ५ करोड र बैंक मौज्दात ८ अर्ब ३५ करोड रुपैयाँ गरी कुल ४१ अर्ब ८५ करोड रुपैयाँ प्राधिकरणको आम्दानी प्राप्त हुने जनाएको छ ।विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरण संस्थागत सुधार, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास, गैरउडान आय वृद्धिमा बजेटले प्राथमिकता दिएको छ । पुँजीगत खर्चमा २६ अर्ब ८२ करोड, अन्य कार्य सञ्चालनमा ३ अर्ब ५७ करोड, कर्मचारी बोनसमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।प्राधिकरणले चालू आर्थिक वर्षमा विमानस्थलको टर्मिनल भवनहरुको स्तरोन्नतिमा बजेट केन्द्रित गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गर्ने र पार्किङ वे तथा टर्मिनल भवनको मास्टर प्लानको कार्यान्वयन–२ को कामलाई निरन्तरता दिइएको छ।