नेपालको स्थानीय भोर्ले झरनामा रमाउनेहरू आन्तरिक पर्यटकहरु बढ्दै
2022-08-02 15:47:29cri
Share with:

दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्न थालेका छन् । चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट खसेको यो झरना र तलको प्रवाहित नदीको सौन्दर्यमा सजिलै रमाउन सकिने भएकाले पर्यटकीय चहलपहलमा वृद्धि हुन थालेको बताइएको छ ।

सिँगटी–लामाबगर सडक खण्ड अन्तर्गतको सडकमा खसेको यो झरनाको पानी २० मिटर बगेर तामाकोसी नदीमा मिसिएको छ । सडकमा गुड्ने सयौँ सवारी साधन झरनाको पानीले धेरथोर भिजेर जान्छन् । कतिपय यात्रु भने घण्टौँसम्म गाडी रोकेर झरनाको चिसो पानीले स्पर्श गराउँदै शीतलता र आनन्द लिने गरेको देखिन्छ ।

झरनासँगको सामिप्यमा मित्रताको साइनो गाँसेर फोटो खिच्दै, टिकटक बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले टाढा टाढाबाट पनि आउने गरेका छन् । उनीहरू झरनाको  अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् । पछिल्ला दिनहरूमा सुन्दरताले भरिपूर्ण यो भोर्ले झरनामा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।

शुक्रबार, शनिबार सहित बिदाको दिन बाह्य तथा आन्तरिक पर्यटकको भीडले झरना क्षेत्रको सडक जाम नै हुने गर्दछ । उखरमाउलो गर्मीलाई छल्न थकान र उत्सुकता सहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीको शीतलता र मज्जा लिँदै थकान मेट्छन्। प्रकृतिको काखमा लुटपुटिँदै, याद तथा अनुभव सँगाल्दै अर्को पटक फेरि फर्कीआउने प्रण पनि गर्छन्।