सात महिनामा दुई लाख ८२ हजार पर्यटक भित्रिएपछि यो क्षेत्र उत्साहित
2022-08-02 15:45:48cri
Share with:

सन् २०२२ को सातौं महिना जुलाईमा ४४ हजार ४ सय ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या हवाई मार्ग हुँदै आउने पर्यटकको हो। अघिल्लो महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक आएका थिए।

अध्यागमन विभागका अनुसार सन् २०२२ को ७ महिनामा २ लाख ८२ हजार २ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अप्रिल र मे महिनाको तुलनामा जुन र जुलाइमा पर्यटक आगमन दर भने घटेको छ । अप्रिलमा ५८ हजार २ सय ४८, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७ र जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक नेपाल आएका छन्।

अफ सिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हुँदै जानु सकारात्मक भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताउनुभयो। पछिल्लो समय बंगलादेश र अमेरिकन तथा युरोपियन पर्यटकमा पनि क्रमश: वृद्धि हुँदै गएको उहाँले बताउनुभयो। बोर्डले पर्यटक आगमनदरमा वृद्धि गर्नको लागि स्रोत बजारमा नियमित प्रचारप्रसार गरिरहेको छ । मूलत: नजिकका स्रोत बजारमा बोर्डले प्रचारप्रसार केन्द्रित गरेको प्रमुख रेग्मीको भनाइ छ ।

सन् २०२२ को पहिलो महिनाबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो। पहिलो जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए। दोश्रो महिना फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजारले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको कारोबार अनलाइनले जनाएको छ।

बोर्डका प्रमुख रेग्मीले भन्नुभयो, “कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा रहेको छ।”

सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो। सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुँदै गएको छ । जुलाईमा भारतबाट १७ हजार ३ सय ९९, अमेरिकाबाट ५ हजार २ सय २८, बेलायतबाट ३ हजार ९ सय ५५, बंगलादेशबाट १ हजार ८ सय ७४, चीनबाट १ हजार ५ सय १३ र अष्ट्रेलियाबाट १ हजार १ सय ४८ पर्यटक नेपाल आएका छन् । जुन महिनाको तुलनामा भारत, बंगलादेश, अमेरिकाबाट आउने पर्यटकको आगमनमा कमी आएको छ भने बेलायत र चीनबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

 

पछिल्लो समय बंगलादेशबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। मार्चमा बंगलादेशबाट २ हजार १ सय ५२ पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपाल भ्रमणका लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । मे महिनामा २६ हजार ६ सय ६२ जना भारतीयले नेपाल भ्रमण गरेका थिए। हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगम कम देखिएको बोर्डले जनाएको छ । जुलाईमा सार्क मुलुकबाट २६ हजार, एसियाबाट २ हजार ३ सय, युरोपबाट ४ हजार ७ सय, अष्ट्रेलिया रिजनबाट १ हजार ५ सय, अमेरिका रिजनबाट ३ हजार २ सय गरी ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन्।