थाइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास
2022-08-03 17:29:12cri
Share with:

चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘थाइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गर्नुभएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसी थाइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले होउले बुधबार विज्ञप्ति जारी गरी थाइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराउनुभएको हो।

 

चिनियाँ राजदूत होउ यान्छीले विज्ञप्तिमा लेख्नुभयो, ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन्। चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र थाइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ।’

 

अमेरिकाले थाइवानलाई चीनबाट टुक्र्याउन खोजेको आरोप चीनले लगाइरहेको छ। महाशक्ति अमेरिकाले आफ्नो मिसनमा नेपालजस्ता साना छिमेकीको पनि समर्थन जुटाउन प्रयत्न गर्ने र त्यसमा नेपालले समर्थन जनाए त्यसले चीनको रणनीतिक सुरक्षा स्वार्थमा आघात पुग्ने चिनियाँ बुझाइ छ। अमेरिकी सभामुख पेलोसीको जारी थाइवान भ्रमणले चीनको उक्त बुझाइ अझ बढी बलियो बन्न पुगेको छ।

थाइवान स्वतन्त्रताको विरोध नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको राजदूत होउले उल्लेख गर्नुभयो। नेपाल सरकार र जनताले विगतमा झैं आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्ने चिनियाँ राजदूतको अपेक्षा छ। अमेरिकी सभामुख पेलोसिले चीनको थाइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्तविपरीत रहेको चीनको दाबी छ। भ्रमणले चीन—अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंघन गर्दै चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको राजदूत होउले उल्लेख गर्नुभयो।

 

विश्वमा एउटा मात्रै चीन रहेको र थाइवान चीनको अभिन्न अंग रहेको तथ्यलाई सन् १९७१ म संयुक्त राष्ट्रसंघीय महासभाको २७५८ प्रस्तावले मान्यता दिएको उहाँले उल्लेख गर्नुभयो। सन् १९७९ मा चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापित हुँदा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मात्र कानुनी रुपमा मान्ने भनी सहमति जनाएको उहाँले स्मरण गराउनुभयो।

 

थाइवानको सवालमा चिनियाँ सरकार र जनताको अडान निरन्तर रहेको राजदूत होउले उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘यो चीन राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता हो।’

थाइवान चीनको अंग रहेको उल्लेख गर्दै उहाँले मातृभूमिको पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीको साझा आकांक्षा र पवित्र दायित्व रहेको बताउनुभएको नेपालका संचारमाध्यमहरूले लेखेका छन्।