नेपालमा एकै दिन सञ्चालनमा आए २२० केभीका ३ वटा सबस्टेसन
2022-08-05 17:21:05cri
Share with:

नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (के.भि.)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।  प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ। २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन्। साथै कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ।

 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताउनुभयो। २२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभएको नेपालखबर अनलाइनले जनाएको छ।   

 

नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको भएको हो। नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो।

इनरुवा सबस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा  चार्ज गरी सञ्चालनमा ल्याइएको थियो। संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको थियो। 

 

प्रसारणलाइन र सबस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गरे। सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्।

 

इनरुवा सबस्टसनमै ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्ने छ।

 

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोसी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो।