५ हजार नेपाली कामदार लैजान जापान तयार
2022-08-05 17:22:10cri
Share with:

जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिन तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्यसमितिको बैठकमा जापान सरकारका प्रतिनिधिले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने समझदारी भएको अनलाइनखबरमा समाचार छ।

 

कार्यसमितिको काठमाडौंमा बसेको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउन ढिलाइ नगर्ने समझदारी भएको हो । बैठकमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि तयारी गर्ने सहमति भएको छ । जापानको (एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि बनाउने समझदारी पनि भएको छ। यसअघि नेपालले कार्यविधि बनाएर मन्त्रिपरिषद् लगेर पास नै गरिसकेको थियो । यो समझदारीले सरकारले बनाएको कार्यविधिलाई जापान सरकारले अस्वीकार गरेको देखिएको छ ।

जापान सरकार त्यहाँको औपचारिक माध्यम (एसएसडब्लू) प्रणाली अन्तर्गत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउन पनि सहमत भएको छ । त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्ने सहमति भएको छ।