नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रित : अध्यक्ष प्रचण्ड
2022-08-06 16:48:40cri
Share with:

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ। पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।    

 

“उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ”, उहाँले भन्नुभयो । जापान नेपालको विकासमा दातृ राष्ट्रका रुपमा रहेको औँल्याउँदै उहाँले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गर्नुभएको गोरखापत्र अनलाइनमा खबर छ।    

 

आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उहाँको भनाइ थियो। नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभयो। नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उहाँले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरु भएको सन्देश दिन सक्नुपर्ने बताउनुभयो।

 

नागरिकता ऐन संसदबाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उहाँले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताउनुभयो ।