आफ्ना दुई बन्दरगाह प्रयोग गर्न बङ्गलादेशद्वारा नेपाललाई प्रस्ताव
2022-08-07 16:19:00cri
Share with:

बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो। बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको गोरखापत्रले लेखेको छ। बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो।  “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो ।

बङ्गलादेशको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री हसिनाले द्विपक्षीय लाभका लगि आफ्नो सेयदपुर विमानस्थल पनि प्रयोग गर्न प्रस्ताव गर्नुभयो । उक्त विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । “नेपालसहितका छिमेकी देशले विमानस्थल प्रयोग गर्न सक्नेछन,” उहाँले भन्नुभयो ।

 

समितिका सभापति पवित्रा निरौला खरेल नेतृत्वको सो भेटमा दुवै पक्षले व्यवसाय र व्यापारमा आपसी लाभका लागि द्विपक्षीय सहयोगमा जोड दिएका थिए । भेटमा नेपाली टोलीले बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष मनाइरहेकाले पनि यस वर्ष दुई देशका लागि विशेष रहेको जनाएको थियो। त्यस्तै नेपाल र बङ्गलादेशबीच जलविद्युत्, पर्यटन, शिक्षा, आईसीटी, कनेक्टिभिटीलगायतका क्षेत्रमा पनि आपसी सहकार्य गर्न सक्ने टोलीले सुझाव दिएको थियो । त्यस्तै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय टोलीको नियमित भ्रमणलाई पनि नेपाली टोलीले जोड दिएको थियो । बङ्गलादेशले पछिल्लो समय पूर्वाधारलगायतको क्षेत्रमा हासिल गरेको विकास र त्यसको नेतृत्वका लागि नेपाली टोलीले प्रधानमन्त्री हसिनाको प्रशंसा गरेको थियो।