७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत निर्माण अन्तिम चरणमा
2022-08-08 15:44:09CRI
Share with:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ। नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि अन्नपूर्ण वेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो। 

नारच्याङको दोभानस्थित विद्युतगृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि आयोजनाले सुरुङ निर्माण थालेको थियो। पाँच वटा अडिटबाट एकसाथ सुरुङ खनिएकाले समयमै सुरुङ जोड्न सफल भएको आयोजनाका आवाशिय इन्जिनियर रत्न बमजन तामाङले बताउनुभयो। आयोजनाको सवैभन्दा कठिन मानिएको सुरुङ निर्माण सकिएसँगै अन्य संरचनाको निर्माणलाई तिव्रता दिइएको उहाँले बताउनुभयो। भौगोलिक विकटताका वाबजुद पनि आयोजना निर्माणले तिव्रता पाएको उहाँले बताउनुभयो।

सुरुङ जोडिएसँगै फिनिसिङको काम अगाडि बढेको छ उहाँले भन्नुभयो बाँध र विद्युतगृह निर्माण तथा इलेक्ट्रोमेकानिकको कामलाई तिव्रता दिएका छौं।आगमी एकवर्ष भित्र दुवै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्रता दिएको उहाँले बताउनुभयो। निलगिरि पहिलोको सुरुङ दशैं अगाडि जोड्ने लक्षका साथ निर्माणलाई तिव्रता दिएको उहाँले बताउनुभयो। आयोजनाको ड्याम तर्फ ९० प्रतिशत निर्माण सकिएको छ। यस्तै विद्युतगृहको शिभिलतर्फको ८० प्रतिशत काम सकिएको आयोजनाका सहायक आवशिय इन्जिनियर योगेश सुवेदीले बताउनुभयो। 

निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको उहाँले बताउनुभयो । निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण थालिएको छ। क्यासकेडको विद्युतगृहदेखि निलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ। छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ। यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन्। कठिन भीर खनेर आयोजनाको निर्माणस्थल सम्म पुग्न सडक निर्माण गरिएको छ। भौगोलिक विकटताक कारण आयोजना सम्पन्न गर्न निकै चुनौती थियो आयोजनाका आवशिय इन्जिनियर तामाङले भन्नुभयो हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठूलो चुनौती थियो तर हामीले सवै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्याउन सफल भएका छौं।

करिब १४ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना रन अफ द रिभरप्रकृतिका हुन्। निलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। छोटेपादोबिल्ला हँुदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न भएपछि दुर्गम तथा विकट स्थानमा पनि जलविद्युत आयोजना निर्माण गर्न सकिने रहेछ भन्ने उदाहरण हुने सहायक आवशिय इन्जिनियर सुवेदीले बताउनुभयो।  यसअघि नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन्। १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ।