नेपाली राजदूत श्रेष्ठद्वारा ओहोदाको प्रमाणपत्रको प्रतिलिपी पेश
2022-08-09 15:48:09CRI
Share with:

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सोमबार बेइजिङस्थित चीनको परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपी बुझाउनु भएको छ। राजदूत श्रेष्ठले परराष्ट्र मन्त्रालयका महानिर्देशक होंग ललाई आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपी बुझाउनु भएको बेइजिंगस्थित नेपाली राजदूताबासले जनाएको नेपाल समाज अनलाइनले लेखेको छ।

तीन साताअगाडि काठमाडौँबाट चीनको छन्तु पुगेपछि १० दिनको क्वारेन्टाइन बसेर उहाँ बेइजिंगस्थित नेपाली राजदूताबास पुग्नु भएको थियो। राष्ट्राध्यक्ष सी चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्न लामो समय कुर्नुपर्ने भएकाले त्यसअघि परराष्ट्र मन्त्रालयमा प्रतिलिपी  पेश गरेर राजदूतले कार्यभार ग्रहण गर्ने चलन छ। यसअघिका राजदूत महेन्द्रबहादुर पाण्डेले पनि कार्यभार सम्हालेको ९ महिनापछि मात्रै राष्ट्राध्यक्ष सीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको थियो। कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण नियुक्त भएको लामो समय राजदूत पाण्डे नेपालमै अड्किनु भएको थियो। बेइजिङ पुगेपछि अनलाइनमार्फत ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर उहाँले कार्यभार सम्हाल्नु भएको थियो।

प्रतिलिपी बुझाएसँगै राजदूत श्रेष्ठ परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वको चीन भ्रमणमा जान लाग्नु भएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन बेइजिङबाट सानतोङ प्रान्तको छिङताओ जाने बताइएको छ। चिनियाँ समकक्षी वाङ्ग यीको निमन्त्रणामा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का काठमाडौँबाट प्रस्थान गर्दै हुनुहुन्छ। प्रतिनिधिमण्डलमा बेइजिङस्थित नेपाली राजदूताबासबाट राजदूत श्रेष्ठसहित नियोग उपप्रमुख कौशल किशोर राय पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।