विश्वव्यापी ७८.३४% उत्तरदाताहरू: चीनको अर्थतन्त्र विश्वको इन्जिन
2022-08-10 14:46:03CRI
Share with:

विश्वव्यापी उत्तरदाताहरूमध्ये ७८.३४% ले "चीनको अर्थतन्त्र विश्व अर्थतन्त्रको इन्जिन बनेको " ठहर गरेका छन्। विश्वका ५ महाद्वीपका २२ देशमा गरिएको विश्वव्यापी जनमत सर्वेक्षणबाट उक्त नतीजा प्राप्त भएको हो। 

"नयाँ युगमा चीन" शीर्षकको सो विश्वव्यापी जनमत सर्वेक्षण चाइना मिडिया ग्रूपको सीजीटीएन र चीनको जन विश्वविद्यालयको संयुक्त आयोजनामा  गरिएको हो। सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान लगायतका विकसित देशहरूका साथै भारत, पाकिस्तान, इजिप्ट, र दक्षिण अफ्रिका जस्ता विकासोन्मुख मुलुकहरूका पनि थिए। 

चीनले हासिल गरेको आर्थिक उपलब्धिको उच्च प्रशंसा गर्ने उत्तरदाताहरूको अनुपात अफ्रिकामा सबैभन्दा बढी रहेको पनि सर्वेक्षणले देखाएको छ। त्यसपछि युरोप र उत्तर अमेरिका दोस्रो र तेस्रोमा छन्। 

विश्वमा "बेल्ट एण्ड रोड" (बीआरआई) सम्बद्ध देशहरूको जनसंख्या ६०% भन्दा बढी छ र विश्व अर्थतन्त्रको करिब ३०% भाग ओगटेका छन्। उक्त सर्वेक्षण अनुसार, चीनको अर्थतन्त्रको उच्च प्रशंसा गर्ने बीआरआईका देशहरूको अनुपात गैर-बीआरआई देशहरूसँगको तुलनामा उल्लेखनीय रूपमा बढ्दैगएको छ। चिनियाँ अर्थतन्त्रमा विकासोन्मुख देशका उत्तरदाताहरूले विकसित देशहरूको भन्दा अझ बढी विश्वास देखाएका छन्।

हिजोआज विज्ञान प्रविधिको तीव्र विकाससँगै चीनको वैज्ञानिक तथा प्राविधिक प्रगतिले विश्वव्यापी उत्तरदाताहरूमा गहिरो छाप छोडेको छ। तीमध्ये, चीनको "५ जी मोबाइल सञ्चार प्रविधिको विकास" ले सबैभन्दा प्रभावित बनाएको छ भने दोस्रो स्थानमा "कृत्रिम बुद्धिमत्ता" (एआई) र तेस्रो स्थानमा "हाइ स्पिड रेल" छन्।

जानकारी अनुसार, यस सर्वेक्षणमा सहभागी विश्वव्यापी उत्तरदाताहरूको औसत उमेर ३८.६४ छ र  उत्तरदाताहरूमध्ये ५४.७१% विश्वविद्यालयबाट स्नातक डिग्री उत्तीर्ण वा सोभन्दा माथि छन्, साथै त्यसमध्ये १५.२२% स्नातकोत्तर र डाक्टरहरू छन्।