चिनियाँ सहयोगमा निर्माणाधिन पोखरा विमानस्थलमा अक्टोबरमा यान्त्रिक परीक्षण हुने
2022-08-10 15:35:29CRI
Share with:

चिनियाँ सहयोगमा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडान अक्टुबरमा हुने भएको छ। २०२३ जनवरी १ मा उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरिसकेको छ। सोहीअनुसार अक्टुबरभित्र क्यालिब्रेसन उडानको तयारी गरिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। विमानस्थलको भौतिक निर्माण सकिएको छ। तर, रिठेपानी डाँडा काट्ने कार्य सुरु भएको छैन। रिठेपानी डाँडा निर्माणाधीन विमानस्थलको पूर्वपट्टि करिब दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ करिब ६ सय प्रजातिका बोटबिरुवा छन्। 

पोखरा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख भएबमोजिम डाँडा नकाटी विमान उडान र अवतरण गर्न सकिँदैन। पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले तयारी पारेको फ्लाइट प्रोसिड्युर डिजाइनमा पनि जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने देखिएको छ। अहिले उक्त डाँडाको रुख भने कटान गरिसकेको आयोजना प्रमुख मुनाकर्मीले जानकारी दिनुभयो। 

रुख काटेर वनलाई विवरण पेस गर्ने क्रममा रहेको उनले सुनाए। यान्त्रिक परीक्षणका लागि भने डाँडाको १४ मिटर उचाइ कटान गर्दा हुने बताइएको छ। सोहीबमोजिम खरिद प्रक्रियामा जान लागेको आयोजना प्रमुख बताउँछन्। 

खरिद प्रक्रियालाई चाँडोभन्दा चाँडो टुंगो लगाएर १४ मिटर डाँडा काट्छौं,’ उनले भने। खरिद प्रक्रियामा जानका लागि नयाँ ठेक्का लगाउने वा विमानस्थल निर्माण कम्पनी चाइनिजलाई दिने भन्नेमा टुंगो नलागेको उहाँले जानकारी दिनुभयो। यो विषय केन्द्रबाट निर्णय हुनेबित्तिकै अघि बढ्छ। स्टमेट पनि करिब सक्किएको छ,’ उहाँले थप्नुभयो। खरिद प्रक्रिया सक्किएर काम सुरु हुनेबित्तिकै एक महिनामा डाँडा कटान सकिने उहाँले जानकारी दिनुभयो। 

यसअघि, २०७७ फागुनमा विमानस्थल नजिकको रिठेपानी डाँडा कटानका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो। राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले ६ महिनाभित्र डाँडा कटानको काम सकी समितिमा जानकारी गराउन निर्देशन दिएको थियो। सरकारले उक्त विमानस्थल बनाउन एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना (एक्जिम बैंक)बाट २१५.९६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएको हो। कुल ऋणको ७५ प्रतिशतको ब्याज २ प्रतिशत र २५ प्रतिशतको शून्य ब्याजदर हुने व्यवस्था छ। २० वर्ष अवधिका लागि लिएको उक्त ऋणको  ७ वर्षसम्म ब्याज तिर्नुपर्दैन। नेपालमा हुने वैदेशिक लगानीमा सबैभन्दा महँगो ब्याजको ऋण चीनकै हो। 

अन्य सहायतामा ऋण र अनुदान नै हुने भए पनि यो भने पूर्ण ऋण मात्र हो। आयोजनाको लागत २२ अर्ब रुपैयाँ रहेकामा १८ अर्ब भुक्तानी गरिसकेको छ। पर्यटकीय नगरी पोखरामा फोर डीस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भएको थियो।  चिनियाँ ठेकेदार कम्पनीले २०७८ चैत्रमा नै साँचो हस्तान्तरण भने गरिसकेको छ।