चीनमा नेपाली चलचित्र ‘राधा’ प्रदर्शन हुने
2022-08-12 16:13:39CRI
Share with:

नेपाली चलचित्र द सिक्रेट अफ राधाचीनमा प्रदर्शन हुने भएको छ। नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२मा राधाप्रदर्शन हुने भएको लोकान्तर अनलाइनले लेखेको छ। १५ अगस्ट अर्थात साउन ३० गते फेस्टिभलमा राधाप्रदर्शन हुनेछ। क्वाङचौस्थित नेपाली महावाणिज्य दूतावासले निर्मातालाई पत्र पठाउँदै यसबारे जानकारी दिएको हो। 

नेपालको उत्कृष्ट डान्स भिडियो प्रदर्शन तथा नेपाली चलचित्रलाई चिनियाँ बजारमा प्रबद्र्धन गर्न सहयोगका लागि आयोजकले राधालाई छनोट गरेको हो। आयोजकले समन्वय गर्न दूतावासलाई आग्रह गरेको छ। दूतावासले पत्रमार्फत सहभागिताको लागि चलचित्रको पूर्ण स्क्रिप्ट, प्रिमियर भिडियो र चलचित्रमा समावेश तीजको गीत मागेको छ। नेपालमा रिलिज नहुँदै चीनमा आधिकारिक क्षेत्रबाट प्रदर्शनका लागि छनोट हुनु एकदमै खुशीको कुरा हो। यसलाई लिएर एकदमै उत्साहित छौं,’ निर्मातामध्येकी देवकी बिष्टले भन्नुभयो। नेपालमा भदौँ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छिन्। उनको साथमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, पशुपति राई लगायतको अभिनय छ।

चलचित्रलाई सुवर्ण थापाले लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा देवकी बिष्टसँगै विक्रम दास जोशी र अभिनेता सौगात मल्लको समेत लगानी छ। एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ।