नेपालमा १५ वर्षमा हात्तीको सङ्ख्या दोब्बर
2022-08-12 16:33:38CRI
Share with:

नेपालभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ। करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको कान्तिपुर अनलाइनले लेखेको छ। मानवद्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो। यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ। २० वर्षमा ३९ वटा हात्ती मारिएका छन्। जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन्। झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन्।

संरक्षणविद् डा. अशोक रामका अनुसार देशभर करिब २ सय २७ वटा रैथाने हात्ती रहेका छन्। १ सय २० देखि १ सय ५० वटा हात्ती भारततिरबाट आउने गरेका छन्। खासगरी झापा र बर्दियामा आप्रवासी हात्ती आउने गरेका छन्। भारतको पश्चिम बंगालमा हाल करिब ६ सय हाराहारीमा हात्ती छन्। ती हात्ती खास गरी झापा आएर रैथाने हात्तीसँग मिसिने गरेको पनि पाइएको छ। कतिपय यतै मिसिन्छन्, कतिपय भने फर्किन्छन्,’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्नुहुन्छ।

नेपालमा १ सय ७६ हात्ती घरपालुवा छन्। ती हात्ती विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन्। जसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएको छ।

हात्ती विज्ञ रामले हालै भारतको वन्यजीव संस्थानबाट एसियाली हात्तीको बासस्थान, जनसंख्या र मानवसँगको सम्बन्धबारे विद्यावारिधी गर्नु भएको हो। त्यही क्रममा गरिएको एक अध्ययन अनुसार सबभन्दा बढी बाँकेबर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा कोरिडरमा १ सय १३ हात्ती छन्। चितवनपर्सा क्षेत्रमा ४५, शुक्लाफाँटामा २६, झापामा १९ र कोसीमा १६ वटा हात्ती छन्।

देशका २० जिल्लामा जारी मानवहात्ती द्वन्द्वको चपेटामा परेर २ सय ७४ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म दुई दशकयता भएको यो अनौठो द्वन्द्वबाट ती सर्वसाधारणले अकालमा ज्यान गुमाएका हुन्।

सबभन्दा बढी झापामा ४१ तथा कम महोत्तरी र नवलपरासीमा ११ जनाले हात्ती आक्रमणबाट ज्यान गुमाएका छन्। हात्ती अनुसन्धाता अशोक रामका अनुसार झापापछि मध्यवर्ती क्षेत्र बर्दियामा हात्ती आक्रमणबाट ४० जनाको ज्यान गएको छ। त्यस्तै चितवनमा २६, सप्तरीमा २३, पर्सामा २१, बारामा २०, सिरहा र उदयपुर १६/१६, सुनसरीमा १५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सिन्धुली र धनुषा ९/९, मोरङ ८, रौतहट ७, सर्लाही, मकवानपुर र कञ्चनपुरमा ५/५ जनाको, इलाममा ४ र बाँकेमा २ को मृत्यु हात्ती आक्रमणबाट भएको छ। २० जिल्लामा १ सय बढी सर्वसाधारण अंगभंग भई घाइते भएका छन्।

देशभरि ६ हजार ६ सय ६ जनाको अन्नबालीमा क्षति पुगेको छ। ३ हजार ७ सय ७५ जनाको भौतिक क्षति भएको छ। हात्ती हामीप्रति बढी आक्रामक बन्दै जानुको कारक हामी नै हौं,’ हात्ती विज्ञ रामले भन्नुभयो, ‘हामीले आफनो आचरण र व्यवहार नसच्चाएसम्म मानवहात्ती दुवैलाई बराबरी खतरा छ।