धरानमा श्रमदानबाटै बिजुली
2022-08-13 15:58:29CRI
Share with:

धरानको सर्दु खोलाबाट बिजुली उत्पादन भएको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को सक्रियतामा १० दिनको श्रमदानबाट ७५० वाट क्षमताको टर्बाइन जडान गरी मिनी माइक्रो हाइड्रोपावर सञ्चालन गरेर बिजुली उत्पादन गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। पावर हाउसमा ३१ मिटरको हेडबाट पानी झारेर टर्बाइन घुमाएर बिजुली निकालिएको योजनाका प्रबन्धक तर्क मगरले जानकारी दिनुभयो। वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको र यसबाट हाललाई २० वटा चिम बाल्न सकिने उहाँले जानकारी दिनुभयो।

स्थानीय सर्वसाधारणको उपस्थितिमा प्रमुख साम्पाङले पावर हाउसको उद्घाटन गर्नुभएको थियो। सानो परीक्षणका लागि गरिएको अभियानले सफलता पाएको अब बृहत् योजना अघि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। यो सानो तर नमुना परियोजना हो। यसले धरानमा पनि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने उदाहरणलाई पुष्टि गरेको छ,” उहाँले भन्नुभयो। 

स्थानीय बानियाँटारमा पोखरी बनाएर त्यहाँबाट धरानभरि बाल्ने गरी बिजुली उत्पादन गरिछाड्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। हिउँदको समयमा हावाबाट बिजुली निकाल्ने आफ्नो योजना रहेको पनि उहाँले जानकारी दिनुभयो। 

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले यो प्रोटोटाइपको मिनी माइक्रो हाइड्रोपावर हाउस भएकाले यसबारेमा अध्ययन गर्न चाहने विद्यार्थीलाई महत्त्वपूर्ण  अध्ययन केन्द्र बनेको बताउनुभयो। परियोजनाको सफलतासँगै स्थानीय खोलानाला, खोल्सा आदिबाट पनि बिजुली उत्पादन गर्न सकिने सन्देश प्राप्त भएको धरानका स्थानीय रुपक खड्काको भनाइ छ। यो योजना सम्पन्न गर्न श्रमदानबाहेक करिब तीन लाख ५० हजार लगानी भएको छ। पावर हाउस निर्माणको क्रममा प्रोटोटाइपका लागि आवश्यक जेनेरेटर, भोल्ट मिटर, टर्बाइनजस्ता आवश्यक सामान इटहरीको इन्जिनियरिङ प्रालिले निःशुल्क उपलब्ध गराएको थियो। धरानमै पहिलो पटक बिजुली उत्पादन भएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।