पाँच वर्षमा नौ हजार चिनियाँलाई नेपालमा बिजनेस भिसा
2022-08-14 15:26:45CRI
Share with:

पछिल्लो ५ वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन्। उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका कारोबार अनलाइनले लेखेको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन्। सन् २०१७ मा १ हजार ५ सय ७९, २०१८ मा १ हजार २ सय ८९, २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिकले बिजनेस भिसा लिएका छन्।
चीनबाट भिसा आवेदनमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ। विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ। भारतीय नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन। नेपालमा लगानी गर्नेमा पछिल्लो दशकमा चिनियाँपछि भारतीय रहेका छन्। यद्यपि, हालसम्मको कुल लगानीमा भने चीनभन्दा भारत नै अगाडि रहेको छ।
नेपालका ठमेल, पोखरा लगायतका क्षेत्रमा चिनियाँको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले चीन र नेपालबीच आयातनिर्यात व्यापारमा पनि मध्यस्थताको भूमिका खेल्ने र यसका लागि बिजनेस भिसा लिने गरेको पाइएको छ। विभागले भने वैदेशिक लगानीको प्रक्रिया पूरा गरेर आउने नागरिकलाई आफूहरूले भिसा सिफारिस गर्ने र परराष्ट्रबाट बिजनेस भिसा जारी हुने गरेको जनाएको छ।
नेपाल चीन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ नेपालका साना मझौला व्यवसायमा चिनियाँहरूको रुची देखिएको र यस क्षेत्रमा उनीहरूको उपस्थिति बढेको बताउनुहुन्छ। उहाँका अनुसार बिजनेस भिसामा चिनियाँहरू अगाडि हुनुको मुख्य कारण पनि यही हो। चिनियाँ व्यवसायीले पछिल्ला वर्षहरूमा नेपाललाई पनि लगानीको गन्तव्य बनाउन लागेको र यसलाई सकारात्मक रुपमा लिनुपर्ने उहाँको भनाइ छ।

वैदेशिक लगानीकर्तालाई भिसासम्बन्धी नयाँ व्यवस्थाअनुसार नेपालमा १० करोड वा सोभन्दा बढी लगानी गर्ने र लगानीको २५ प्रतिशत रकम भित्र्याइसकेको अवस्थामा लगानीकर्ता वा प्रतिनिधि दुई जना व्यक्तिलाई व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था छ।
त्यस्तो भिसा लगानीकर्ताको दुई जना प्रतिनिधि र तीनका परिवारले पाउनेछन्। यस्तै नियमावलीमा वैदेशिक लगानीकर्तालाई आवासीय भिसाको पनि व्यवस्था गरिएको छ। १० लाख डलरभन्दा बढी रकम वा सोबराबरको परिवत्र्य मुद्रा विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिलाई र परिवारका सदस्यलाई यस्तो भिसा प्रदान गरिने उल्लेख छ। यस्तो लगानीको ५० प्रतिशत लगानी बराबरको लगानी स्वदेशमा कायम रहेसम्म ती व्यक्तिले आवासीय भिसा प्राप्त गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विदेशी लगानी ऐन कार्यान्वयन हुनुभन्दा अघि स्वीकृत भएको लगानीकर्ताको हकमा लगानी स्वीकृत हुँदाको बेला तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानीयोग्य कायम गर्नु पर्नेछ। विदेशी लगानी स्वीकृत गर्ने निकायमै लगानीकर्ता र सम्बन्धित अधिकारीले भिसाको लागि आवेदन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ।