पर्यटकीय स्थलको खोजी, लुम्बिनीको सानीभेरीमा र्‍याफ्टिङ सञ्चालन गरिने
2022-08-16 16:23:28cri
Share with:

रुकुमपूर्वको सानीभेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । सिस्ने गाउँपालिकाले आउँदो मङ्सिर महिनासम्ममा सानीभेरी नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याउने भएको हो। अहिले र्‍याफ्टिङका लागि सिस्ने गाउँपालिका–६, धाउनेमा सानीभेरी नदीको किनारमा र्‍याफ्टिङका लागि टिकट घर निर्माण भइरहेको छ ।

पर्यटन क्षेत्रको विकासका लागि सानीभेरीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन विभागको १५ लाख रुपियाँ सहयोगमा टिकट घर निर्माणको काम भइरहेको हो। आगामी दशैँअघि टिकट घर निर्माणको काम सकेर ढिलोमा मङ्सिरभित्रै र्‍याफ्टिङ सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । र्‍याफ्टिङका लागि आवश्यक सामग्री ल्याउन लागिएको पनि गाउँपालिकाले जनाएको छ ।

धाउनेदेखि रुकुमपश्चिमको कुनाखेतसम्मको करिब आठ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । र्‍याफ्टिङ सञ्चालनका लागि गाउँपालिकाले तीन जनालाई एकमहिने तालिमसमेत गराइसकेको छ । गएको वर्ष सानीभेरीमा र्‍याफ्टिङ सञ्चालनको परीक्षण गरिएको थियो । र्‍याफ्टिङ सञ्चालनका लागि परीक्षण पनि सफल भएको छ।  चालू आर्थिक वर्षमा गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि र्‍याफ्टिङ सञ्चालनलाई समेटिएको छ । साथै र्‍याफ्टिङ सञ्चालन व्यवस्थापनका लागि चार लाख रुपियाँ बजेट पनि विनियोजन गरिएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लामा पहिलो पटक र्‍याफ्टिङ सञ्चालनमा ल्याउन लागिएको हो । यसबाट पर्यटन क्षेत्रको विकास हुनुका साथै आन्तरिक र बाह्य पर्यटकलाई भिœयाउने गाउँपालिकाको उद्देश्य रहेको छ। गोरखापत्र।