नेपालमा चाडबाड नजिकिँदै गर्दा चीनसँगका नाका खुल्ने व्यवसायीको अपेक्षा
2022-08-17 15:35:53cri
Share with:

चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ। चीनले विना जानकारी एक्कासि नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन्। चीनमा कोरोना सङ्क्रमण बढेको भनी सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने दुवै भन्सार कार्यालयका प्रमुखको आँकलन छ। विना जानकारी नाका बन्द हुँदा नाका कहिले खुल्छ आधिकारिक जानकारी नआएको उहाँहरुको भनाइ छ। गत सातादेखि चिनियाँ पक्षले कारोनाको बहाना बनाएर मुख्य व्यापारिक नाकाहरु बन्द गरेको थियो।

लामो समय नाका बन्द रहे दशैँ र तिहारका लागि ल्याइएका सामानहरु नाकामै अड्कने र बजारमा उपभोग्य सामग्रीको मूल्य आकाशिने आँकलन गरिएको छ। समयमै नाका सुचारु नभए नेपाली बजारमा सामानको अभाव सिर्जना हुनुका साथै मूल्यवृद्धि पनि हुनसक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो।‘नजिकिँदै गरेको तीज, दशैँ र तिहारजस्ता चाडपर्वका लागि भित्रिने सामानहरु ल्याउन नसक्दा एकातिर अभाव झेल्नुपर्ने र अर्कोतर्फ मूल्य बढ्ने सम्भावना रहन्छ’ प्रमुख गौतमले भन्नुभयो, ‘हरेक वर्ष दशैँ तिहारमा लत्ताकपडाको माग उच्च हुने गरेको छ। आपूर्ति हुन नसक्दा सामान महँगिन सक्छ ।’ विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा, फलफुल र इलेक्ट्रिक सामानहरु भित्रिने गरेका छन।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालको व्यापार भारतपछि सबैभन्दा धेरै चीनसँग छ। नेपालबाट सामान निर्यातमा भने चीनले पूर्णरुपमा रोक लगाएको छ। सङ्क्रमणको जोखिम कायमै रहेको बहानामा निर्यात शून्य छ भने आयात गरिने सामानमा पनि कहिले खोल्ने र बन्द गर्दै आएको गोरखापत्र अनलाइनले जनाएको छ।

सो विषयमा नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमार्फत नाका खोल्न पत्राचार गर्दा समेत चीनले बेवास्ता गरेको गौतमको भनाइ छ । तातोपानी भन्सार कार्यालय प्रमुख गौतमले चिनियाँ क्षेत्रमा कोभिड बढिरहेको भन्दै गत सातादेखि नाका बन्द गरिएको अनौपचारिक जानकारी प्राप्त भएको बताउनुभयो । ‘चीनतर्फ कोभिड बढेर सामान र आवतजावत पूर्णरुपमा रोक लगाएको छ ।

कहिलेसम्मका लागि हो भन्ने केही औपचारिक जानकारी आएको छैन,’ उहाँले भन्नुभयो, ‘चीनका मुख्य नाकाबाट आयात गरिने सामानमा असर पुगेको छ ।’ यसैगरी, अर्को नाका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले औपचारिक जानकारी विना चीनले सामान आयात ठप्प पार्दा बजारमा मूल्यवृद्धि हुने कुरा नकार्न नसकिने बताउनुभयो । आयात ठप्प हुँदा सामानको अभाव र महँगो मूल्य तिरेर उपभोक्ताले सामग्री खरिद गर्नुपर्ने अवस्था सिर्जना पनि हुनसक्ने उहाँले बताउनुभयो । अहिलेको नाकाबन्दी लामो अवधिसम्म कायम रहे दशैँ तिहारमा उच्च माग हुने लत्ताकपडालगायतका सामानको अभाव हुने व्यापारीहरु बताउँछन् ।

गत वर्षको दशैँ तिहारमा पनि नाकाबन्दीका कारण मागअनुसार सामान भित्रिन नसक्दा उपभोक्ताहरुले अभाव र महँगी खेप्नुपरेको थियो । यी नाकाबाट नेपाल भित्रिने सामानका कन्टेनरहरू चिनियाँ क्षेत्रमै अड्किएको व्यापारीहरूको गुनासो छ । जसको कारण एकातिर सामानको अभाव र अर्कोतर्फ आयातका लागि लागत बढ्दा सामान महँगो हुने उहाँहरुको भनाइ छ ।

विवेक इम्पोरियमका प्रोप्राइटर गणेश कट्टेल लामो अवधिसम्म उत्तरी नाका बन्द भएमा दशैँ तिहारका लागि ल्याइने सामान अभाव हुनुका साथै महँगिने बताउनुभयो । राज्यलाई राजस्व पनि गुम्ने र उपभोक्ताई पनि यसको प्रत्यक्ष असर पर्ने देखिएकाले सरकारले नाका खुलाउन चीनसँग तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ छ।