नेपालमा श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपति प्रधानमन्त्री लगायतको शुभकामना सन्देश
2022-08-19 15:41:24cri
Share with:

नेपालमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। यस उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ।

विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ। “सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ”, सन्देशमा भनिएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने प्रचलन रही आएको छ । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र भगवान विष्णुका एक अवतार मानिन्छ। गोरखापत्र अनलाइन।