नेपालमा लगानी गर्न भारतीयलाई आग्रह
2022-08-19 15:39:20cri
Share with:

सरकार र निजी क्षेत्रले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। भारतको उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारीसँग भएको अन्तक्रियामा यस्तो आग्रह गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको जानकारी दिनुभयो।

उहाँले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको र एकद्वार नीति अबलम्बन गरेको बताउनुभयो। उहाँले नेपालमा गरिने लगानीका लागि भारत एवं चीन लगायत प्रमुख बजार रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताउनुभयो। उहाँले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताउनुभयो।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, युनिलिभर नेपाल लगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गर्नुभयो। उहाले सिमेन्ट, खानी, जलविद्युत्, सूचना प्रविधि लगायतका क्षेत्रमा निकै अवसर रहेको जनाउनुभयो। ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको बताउनुभयो। नागरिकन्यूज डटकम।