दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई
2022-08-20 15:15:34cri
Share with:

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र गाई ल्याउने प्रयास गरेको थियो। त्यो बल्ल सफल हुने भएको छ। यो सबै प्रक्रिया पूरा भएपछि उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याइने भएको हो। अबको दुई महिनाभित्र ती साँढे र गाई नेपाल आइपुग्ने हेफर इन्टरनेसनलले जनाएको छ।

नेपालका साँढे पुरानो भएकाले यसको प्रयोगबाट जन्मने बाच्छाबाच्छीको गुणस्तर कमजोर हुने, दूध उत्पादन घट्नेलगायतका समस्या आएपछि पाँच वर्षअघि कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले उन्नत जातको साँढे र गाई ल्याइदिनका लागि हेफरलाई लिखित रूपमै आग्रह गरेको थियो।  विभागको आग्रहपछि हेफरले पाँच वर्षअघि नै प्रक्रिया सुरु गरेको थियो। तर हेफरको फाइल पाँच वर्षसम्म नेपालमै घुमिरह्यो। अहिले बल्ल कृषि मन्त्रालयले सबै कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियालाई पत्र पठाएको छ। पत्र गइसकेपछि अब साँढे र गाई आउने कुरामा ढुक्क भएको हेफरले जनाएको छ।

“दक्षिण कोरिया सरकारलाई पत्र पठाइसकिएको छ, त्यहाँ पनि कानुनी प्रक्रिया सुरु भएको छ । ती प्रक्रिया पूरा भएपछि उन्नत जातको साँढे र गाई ल्याइनेछ,” विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनुभयो । दक्षिण कोरियाबाट सोधपुछ भइरहेको र कागजात माग भइरहेका तथा आवश्यक कागजपत्र पठाइदिएको उहाँले बताउनुभयो ।

हाल हेफर इन्टरनेसनलमा परामर्शदाताका रूपमा कार्यरत पशु सेवा विभागका पूर्वमहानिर्देशक डा. विमलकुमार निर्मलले भन्नुभयो, “दक्षिण कोरियाबाट साँढे र गाई आउन हेल्थ सर्टिफिकेट र कार्गोले मात्र ढिलो भइरहेको छ ।”

कोरिया सरकारले पठाएको नमुनाअनुसार नेपालले हेल्थ सर्टिफिकेट (निरोगिताको प्रमाणपत्र) तयार पारिसकेको छ । आइतबार वा सोमबार परराष्ट्र मन्त्रालयमार्फत कोरिया पठाइने उहाँले बताउनुभयो । कार्गोको विषयमा पनि छलफल भइरहेको र यी दुइटा विषय टुङ्गो लागेपछि एक/दुई महिनाभित्र साँढे तथा गाई नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।  हेफर कोरियाले नेपाल ल्याउने साँढे र गाई दक्षिण कोरियाको एक फार्ममा तयार गरिसकेको जनाइएको छ ।

नेपाललाई ती गाई र साँढे निःशुल्क उपलब्ध हुनेछन् । कोरिया सरकारले हेफरलाई ती गाई र साँढे निःशुल्क उपलब्ध गराएको हो । गाई र साँढे ल्याउन लाग्ने सम्पूर्ण खर्च हेफरले नै बेहोर्ने पशु सेवा विभागले जनाएको छ । कोरियाबाट नेपाल ल्याउन कुल डेढ करोड रुपियाँ खर्च पर्ने देखिएको छ ।

कोरियाबाट ल्याइएका गाई सिन्धुलीमा खोल्न लागिएको मोडेल डेरी भिलेज फार्ममा राखिने बताइएको छ । सो फार्मबाट ती उन्नत जातका गाईहरू किसानलाई वितरण गरिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । त्यो फार्म स्थानीय तहको सहयोगमा हेफरले सञ्चालन गर्न लागेको हो । त्यसमा पशुसेवा विभागको पनि प्राविधिक सहयोग रहेको छ। कोरियाबाट ल्याइने साँढे भने पोखराको पशु प्रजनन कार्यालयमा राखिनेछ। साभारः गोरखापत्र अनलाइन।