१३ सय ८३ एमभिए क्षमताको सवस्टेशन निर्माण
2022-08-21 16:33:56cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ६ सय २८ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ। नेपाल विद्युत् प्राधिकरणले २०७८/७९ मा विभिन्न भोल्टेज लेभलका ६२८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको काम सकेको हो। प्राधिकरणले हालसालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सो अवधिमा १३ सय ८३ एमभिए क्षमताका ग्रिड सवस्टेशनहरूको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको उल्लेख छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत आवमा आधा दर्जनभन्दा धेरै प्रसारण लाइन सञ्चालनमा आएको बताउनुभयो। ‘गत आवमा १०६ सर्किट किलोमिटरको २२० केभी कोसी कोरिडोर सञ्चालनमा आएको छ,’ उहाँले भन्नुभयो– ‘१८० सर्किट किलोमिटरको १३२ केभी सोलु कोरिडोर पनि सञ्चालनमा आएको छ।’

 

प्राधिकरणका अनुसार १६४ सर्किट किलोमिटरको २२० केभी मस्र्याङ्दी–काठमाडौं, ७४ सर्किट किलोमिटरको १३२ केभीको मोतिपुर–सन्धिखर्क प्रसारणलाइन पनि चार्ज भएर सञ्चालनमा आएको छ। २८ सर्किट किलोमिटरको १३२ केभीको बर्दघाट–सर्दी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ। ३६ सर्किट किलोमिटरको १३२ केभीको बुटबल–मैनहियाँ र ४० सर्किट किलोमिटरको १३२ केभीको नयाँ मोदी– लाहाचोक प्रसारणलाइनहरू आव २०७८/७९ भित्र निर्माण सम्पन्न भएका हुन्।

 

गत आर्थिक वर्षमा २२०/१३२ केभी १०० एमभिए क्षमताको न्यु बुटवल सवस्टेशन सञ्चालनमा आएको थियो। त्यसैगरी १३२/३३/११ केभी, ४६ एमभीए क्षमताको मोतीपुर सवस्टेशन तथा सन्धिखर्क चार्जिङ भएको थियो।

 

त्यसैगरी १३२/३३/११ केभी ४५ एमभीए क्षमताको मैनहियाँ सवस्टेशन, १३२/३३/११ केभी, ३८ एमभीएक्षमताको लाहाचोक सवस्टेशन, न्यूमोदी १३२ केभी स्विचिङ सवस्टेशन, १३२/३३/११ केभी, ७९ एमभीए क्षमताको नवलपरासी सवस्टेशन १३२/११ केभी, ३० एमभीएक्षमताको भरतपुर (आँपटारी) सवस्टेशन, २२० र १३२, १०० एमभीएक्षमताको नयाँ खिम्ती सवस्टेशन, र १३२/११/१० एमभीएक्षमताको कीर्तिपुर सवस्टेशनसमेत सञ्चालनमा आएको थियो।

 

प्राधिकरणका अनुसार ६६ केभी तथा सोभन्दा माथिल्लो भोल्टेज लेभलको प्रसारणलाइन ५ हजार ३ सय २९ सर्किट किलोमिटर र ७१ सय ४९ एमभीए क्षमताका ग्रिड सवस्टेशनहरू सञ्चालनमा रहेका छन्। विगत ७ वर्षको अवधिमा २७ सय ५ सर्किट किलोमिटर प्रसारणलाइन र ५ हजार १७ एमभीए क्षमताका ग्रिड सवस्टेशन प्रणालीमा थप भएको छ। त्यस्तै १३२ केभी, २२० केभी र ४०० केभीको क्रमशः १ हजार ४ सय ३० सर्किट किमि, ९ सय ३० सर्किट किलोमिटर र ७ सय ५४ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन चरणमा रहेका छन्।

 

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४ सय केभीका क्रमशः १४ सय ७० सर्किट किलोमिटर, २५१ सर्किट किलोमिटर र तीन हजार १० सर्किट किलोमिटर प्रसारण लाइन पनि निर्माणाधीन अवस्थामा रहेका छन्। १० हजार ४ सय ६३ एमभिए क्षमताका ग्रिड सवस्टेशनहरू आगामी पाँच वर्षभित्र निर्माण गर्ने गरी अध्ययन तथा डिजाइनको काम अगाडि बढाइएको नागरिकन्यूज डटकममा खबर छ।