भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित
2022-08-22 16:34:22cri
Share with:

भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ। उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रोक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका कारोबार अनलाइनले लेखेको छ।
नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरूपको भएको भन्दै त्यहाँको संसद्को एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो। भारतीय बजारमा नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने–नबिक्ने अन्योलमा छन्। उद्योगी तथा व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन्। भारतीय संसद्को सो समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै आरोप लगाएको हो। नेपाली चिया व्यवसायीहरू भारतको झूटो आरोपले नेपाली चियाको बजार धरापमा पर्ने भन्दै चिन्तित समेत भएका छन्।
नेपालको चिया वर्षौंदेखि भारत हुँदै तेस्रो मुलुक निर्यात हुँदै आएको छ। नेपाली चिया व्यवसायीले चियामा भारतीय पक्षले झूटा आरोप लगाएको बताउँदै आएका छन्। नेपालमा उत्पादित चिया आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन भारत सरकारलाई बुझाएपछि भारतीय पक्षले षड्यन्त्र रचेर नेपालको चिया बदनाम गराउन खोजेको नेपाली व्यवसायीको भनाइ छ। स्रोतका अनुसार भारतका दुई सदनका ३० जना सांसद सहभागी एउटा समितिले भारतीय सरकारलाई प्रतिवेदन बुझाएको छ।
नेपालमा उत्पादित चिया सस्तो र गुणस्तरहीन भएका कारण विश्वको एक मात्र उत्कृष्ट दार्जीलिङको चियालाई असर परेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ। साथै भारतमा चियासँग सरोकार राख्ने विभिन्न संघसंस्थाले संसदीय समितिलाई नेपालबाट आयात हुने सस्तो र गुणस्तरहीन चियाको परिमाण धेरै भएको बताएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार भारतको आर्थिक वर्ष सन् २०१३/०१४ देखि सन् २०१८/०१९ सम्म एक करोडदेखि १ करोड २० लाख किलोसम्म चिया भारत भित्रिएको उल्लेख छ।
नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जीलिङ चिया विश्व बजारमा अलोकप्रिय भएको भन्दै भारतीय पक्षले नेपाली चिया रोक्न प्रयास गरेको जनाइएको छ। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले भारतीय संसद्ले प्रस्ताव पारित गरे नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुग्ने बताउँदै आएको छ। नेपालले चिया विदेश निर्यात गर्न नेपालको आफ्नो लोगोसमेत प्राप्त गरिसकेको छ। तर, अझै नेपाली चिया विदेश निर्यात गर्न भारतकै भर पर्नुपर्ने अवस्था छ।
भारतमा नेपाली चिया निर्यात रोके नेपालको अर्थतन्त्रमा समेत समस्या हुने सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तम श्रेष्ठले बताउनुभयो। उहाँले नेपाली चिया रोक्नुअघि नै नेपालको तर्फबाट कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाली चिया बिक्री गर्न भारतको मात्र भर पर्नुपर्ने भन्दा पनि अन्य मुलुकमा चिया निर्यातका सरकार लाग्नुपर्नेमा जोड दिनुभयो।
हाल भारतमा मात्रै निर्भर भएका कारण नेपाली गुणस्तरीय चियासमेत सस्तो मूल्यमा बिक्री गरिरहनुपरेको छ। उहाँका अनुसार भारतीय अक्सनमा भारतीय व्यापारीले नेपाली चिया पुर्‍याउने हो भने त्यसको मूल्य महँगो पर्ने बताइएको छ। साथै, सोही मूल्यमा ४० प्रतिशतदेखि शतप्रतिशतसम्म भन्सार शुल्क तिर्नुपर्ने भएपछि नेपाली चियाको बजार धरापमा परेको व्यवसायीको भनाइ छ।
सूर्योदय टी एसोसिएसनले प्रधानमन्त्रीको समेत यसअघि नै ध्यानाकर्षण गराइसकेको छ। नेपाल सरकारले बेलैमा यस विषयमा गम्भीर भएर नेपाली चिया निर्यातका लागि आवश्यक पहल गर्न उनीहरूले आग्रह गर्दै आएका छन्।
भारतको बाटो भएर मात्र विदेश चिया लैजानुपर्ने बाध्यतालाई हटाएर अन्य मुलुकमा समेत सहज रूपमा चिया निर्यात गर्न सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ। नेपाली तयारी चिया हाल भारतको कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा परीक्षण भएर मात्र जाने गरेको छ। परीक्षणपछि पास भई परीक्षण गरेको चिया ६ महिनासम्म निर्यात गर्न पाउने प्रावधान रहेको जनाइएको छ।
यसरी परीक्षण गराउँदा निकै महँगो र झन्झटिलो पर्ने बताइएको छ। ल्याबबाट आएको रिपोर्ट व्यवसायीले पाउन १५ दिनसम्म लाग्ने गरेको छ। कहिले भारतीय पक्षले विभिन्न बहाना बनाएर नेपाली चिया भारत लैजान भारतीय भन्सारमै अवरोधसमेत गर्ने गरेको व्यवसायीहरूको भनाइ छ।
नेपाल सरकारले भारतलगायत विभिन्न देशसँग सरकार–सरकार (जी टु जी) सम्झौता गर्न आवश्यक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सदस्य तथा एसोसिएसनका पूर्वअध्यक्ष पुनम राईको भनाइ छ। उहाँले सरकार–सरकार सम्झौता हुन नसके नेपाली चियाको बजार धरापमा पर्ने बताउनुभयो।
उहाँका अनुसार भारतले वर्षैपिच्छे कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरिरहेको छ। यस्तो ठूलो समस्या स्थानीय सरकारले मात्र समाधान गर्न नसक्ने सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले बताउनुभयो। उहाँले स्थानीय सरकारले स्थानीय चिया किसानहरूको समस्या पहलमा लागिरहेको समेत बताउनुभयो। तर, विदेश निर्यात गर्ने कुरामा केन्द्र सरकार नै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सूर्योदय नगरपालिकाले २०७५ सालमै चियासम्बन्धी कार्यविधि निर्माण गरी लागू गरेको छ। तर, सो कार्यविधि समयअनुसार परिमार्जन हुनुपर्ने स्थानीय चिया किसान तथा उद्योगीहरूको माग छ। नेपाल सरकारले नेपाली चिया निर्यातमा चासो राखेर निर्यातमा सहजीकरण गरिदिए हाल नेपालमा पाइरहेको मूल्यभन्दा तेब्बर बढी मूल्यमा समेत बिक्री हुने नेपाली चिया उद्योगी तथा व्यवसायीको भनाइ छ।
भारतीय व्यापारीले नेपालको चिया तेस्रो मुलुक निर्यात गर्दा निकै नाफा राखेर मात्र बिक्री गर्ने बताइएको छ। यस विषयमा समेत नेपाल सरकारले नेपाली चिया निर्यात गर्न धेरै देशहरूमा पहल गरिदिनुपर्ने माग व्यवसायीको छ।