दोर्दीको बिजुली वैकल्पिक लाइनबाट प्रणालीमा
2022-08-22 16:44:04cri
Share with:

दोर्दी करिडोरका ४ वटा जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने भएको छ। लमजुङको दोर्दी खोलामा बनिरहेका आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिनुपर्ने थियो। तर उदीपुर–मार्कीचोक २२० प्रसारण लाइन समयमा बन्न नसक्दा वैकल्पिक प्रसारण रुटमार्फत उदीपुर–दलालदेखि मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको सिउँडीबारमा रहेको स्विचयार्डमा जोड्न लागिएको कान्तिपुर अनलाइनले लेखेको छ।

‘हाम्रो लाइन तयार भएको थिएन । अहिले ६ किमि वैकल्पिक प्रसारण लाइन तयार गरेर दोर्दी करिडोरका आयोजनाको बिजुली प्रसारण लाइनमा जोड्न सकिने भएको छ,’ मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना प्रमुख चिरन्तनविक्रम राणाले भन्नुभयो, ‘दोर्दीखोला जलविद्युत् आयोजनाको २७ मेगावाट बिजुली तुरुन्तै जोड्न सकिने अवस्थामा छ । त्यसबाहेक दोर्दीखोला–१ को १२, माथिल्लो दोर्दीको २५ र चेपे जलविद्युत् आयोजनाबाट ७ मेगावाट प्रसारण लाइनमा जोड्न सकिन्छ ।’

दोर्दी प्रसारण लाइन बनेको अवस्थामा दोर्दी करिडोरको बिजुली आँबुखैरेनी हुँदै काठमाडौं जोडिनुपर्थ्यो । तर अहिले लमजुङ खण्डबाट मध्यमर्स्याङ्दीमा जोड्ने गरी वैकल्पिक रुट तयार पारिएको छ । तर ती आयोजनाको बिजुली प्रसारण लाइनमा जोड्न औपचारिक निर्णय भइसकेको छैन । ‘दोर्दी करिडोरमा बनेका आयोजनाको बिजुली जोड्न कोर्डिनेसन कमिटीको चिठी आउन बाँकी छ । वैकल्पिक लाइन बनेपछि अब पावर फ्लोका लागि समस्या भएन,’ राणाले भन्नुभयो, ‘गोरखा खण्ड निर्माण सम्पन्न भएपछि २२० मै चार्ज गर्छौं ।’

मर्स्याङ्दी करिडोरअन्तर्गत भरतपुर सबस्टेसन आगामी सेप्टेम्बर र उदीपुर सबस्टेसन डिसेम्बरमा तयार हुने लक्ष्य राखिएको छ । आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं. ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै ४ वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दै आएका छन् । अहिले १० वटा टावरबाहेक जग्गा अधिग्रहणको काम सकिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सुरुमा मर्स्याङ्दी नदीको किनारैकिनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो । तर नागरिक उड्डयन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिए पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो ।

दोर्दीखोला र दोर्दीखोला–१ जलविद्युत् आयोजनाले निर्माण पूरा गरे पनि प्रसारण लाइन अभावमा उत्पादन परीक्षण गर्न सकेका छैनन् । माथिल्लो दोर्दी ‘ए’ र सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले पनि निर्माण सम्पन्न मिति गुजारिसकेका छन् । प्रसारण लाइन नभएपछि यी आयोजनाले उत्पादन सुरु गर्न सकेका थिएनन् । अघिल्लो वर्ष असारमा आएको बाढीले चारवटा विद्युत् टावर ढालेकामा प्राधिकरणले अझै नबनाएपछि १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गर्न सकेको छैन । बाढीले बगाएकामध्ये २ वटा टावर अझै बनेका छैनन् । ती दुईवटा टावर बन्न नसक्दा कीर्तिपुर सबस्टेसन र उदीपुर सबस्टेसनको बिजुली जोड्न सकिएको छैन । प्रसारण लाइन समयमा नबनेपछि प्राधिकरणको व्यवस्थापनले २५ मेगावाटको माथिल्लो दोर्दी र १२ मेगावाटको दोर्दीखोला–१ आयोजनालाई पनि वैकल्पिक प्रसारण लाइनबाट राष्ट्रिय प्रणालीमा जोड्नका लागि प्रयास गरिरहेको छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १ सय १३ किमि छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ । युरोपेली लगानी बैंक (ईआईबी) को ऋण र सरकारको लगानीमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

प्रसारण लाइन निर्माणमा समस्या देखिएपछि प्राधिकरणले अर्को एक आयोजनाको पनि रुट परिवर्तन गरेको छ । लमजुङमा बनिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना ६ किलोमिटर दूरीमा रहेको तारीकुना सबस्टेसनमा जोडिनुपर्ने थियो । तर प्रसारण लाइन नबनेपछि केही दिनअघि मात्र ऊर्जा सचिवस्तरीय निर्णयमार्फत न्यादीलाई सिनोहाइड्रो सगरमाथा कम्पनीले अपर मर्स्याङ्दी–ए का लागि बनाएको प्रसारण लाइनमा जोडिएको छ । तारीकुना सबस्टेसनमा बिजुली जोड्ने अवस्था नरहेपछि प्राधिकरणले अपर मर्स्याङ्दी–ए को प्रसारण लाइनमा जान भनेको र आफूहरूले पनि त्यसमा सहमति जनाएको न्यादी हाइड्रोपावर कम्पनीले जनाएको छ ।