हिमालय एअरलाईन्सले खुनमिङगमा उडान थप्ने
2022-08-23 16:51:45cri
Share with:

चीनको खुनमिङका लागि हिमालय एअरलाइन्सले साप्ताहिकरुपमा थप एक उडान गर्ने भएको छ। हरेक मंगलबार काठमाडौँ-खुनमिङ रुटमा उडान भर्दै आएको हिमालयले सेप्टेम्बर १ तारिखका दिनदेखि लागू हुने गरी सोही रुटमा हरेक बिहीबार अर्को नियमित उडान थप्ने भएको नेपाल समाज अनलाइनले लेखेको छ।

एउटै उडानमा १४ जना कोभिड संक्रमित भेटिएपछि हिमालयको मंगलबारको उडानलाई चीन सरकारले आजैका मितिदेखि चार हप्तासम्मका लागि प्रतिबन्ध लगाएको छ। सेप्टेम्बर २० तारिखबाट प्रतिबन्धित उडान फुकुवा भएसँगै हिमालयको खुनमिङ रूटमा हप्तामा दुई वटा उडान हुनेछन्।

प्रतिबन्धित उडानको टिकट खरिद गरिसकेका यात्रुले निःशुल्क मिति परिवर्तन गरी नयाँ उडानमा यात्रा गर्न पाउने सुविधा दिइएको सूचना हिमालयले सूचित गरेको छ।

अन्तरराष्ट्रिय उडानबाट भित्रिने यात्रुलाई प्रस्थान गर्ने शहरमा अनिवार्य गरिएको तीन दिनको होटल क्वोरेन्टिनको नियम चीन सरकारले हटाए पनि हिमालयका यात्रुलाई भने अनिवार्य गरिएको छ। उडानको तीनदिनअघि काठमाडौँ लाजिम्पाटस्थित होटल रेडिसनमा हिमालयले अनिवार्य तथा निःशुल्क क्वारेन्टिनको व्यवस्था गरेको छ।

क्वारेन्टिन अवधिको आवास, खाना, पीसीआर एन्टिजीन परीक्षण खर्च भने एअरलाईन्सले नै बेहोर्ने जनाइएको छ। उडान संख्या थपिए पनि काठमाडौँबाट खुनिमिंगसम्मको एकातर्फी हवाई भाडा तीन लाख रुपियाँभन्दा तल झर्न सकेको छैन।

चीन प्रवेश गरिसकेपछि अनिवार्य गरिएको सात जोड तीन दिनको क्वारेन्टिनलगायतको खर्च भने यात्रु स्वयम्ले बेहोर्नुपर्छ। सात दिन स्थानीय सरकारले तोकेको होटलमा सात दिन क्वारेन्टिन बसेपछि घरमा पुगेर फेरि अर्को तीन दिन क्वारेन्टिन बस्नुपर्छ।

कोरोना महामारीपछि लामो समय बन्द भएको नेपालचीनबीचको हवाइ सेवा हिमालयले खुनमिङ र एअर चाइनाले छन्तु रूटमा हप्तामा एक एकवटा उडानबाट सुरू  गरेका थिए। हिमालयको उडान थपिएसँगै दुबै देशबीच अब हप्ताको तीन उडान हुनेछन्।