गत आर्थिक वर्षमा केरुङ र तातोपानी नाकाबाट दुई खर्बको सामान आयात
2022-08-24 16:05:18cri
Share with:

नेपाल–चीनको तातोपानी र रसुवागढी हुँदै चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपालबाट कार्पेट, हस्तकलाका सामान, तयारी पोसाक, छाला पश्मिनालगायतका सामान निर्यात हुने गर्छन्। चीनबाट टेलिकमका सामग्री, तयारी पोसाक र कपडा, अन्य मेसनरी, इलेक्ट्रिकल सामग्री, कम्प्युटर र पार्टस् आयात भएका छन्। चीनले नेपाललाई आठ हजारभन्दा बढी उत्पादनमा भन्सार छुटको सुविधा दिएको छ। तर, न्यून मात्र निर्यात हुने गरेको विभागको तथ्याङ्क छ। 

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले भन्सार छुट दिए पनि प्रक्रियागत झन्झटले कम निर्यात हुने गरेको बताउनुभयो। निर्यात हुने वस्तुमा नभएर अन्य वस्तुमा भन्सार छुटको सुविधा दिएको छ, कोभिडपछि उत्तरी नाकाबाट स्वदेशी वस्तुको निर्यात नै नभएको उहाँले जानकारी दिनुभयो। प्रक्रियागत झन्झटका कारणले पनि निर्यात कम हुने गरेको उहाँले जानकारी दिनुभयो। भन्सार छुट दिएका वस्तुमध्ये ९८ प्रतिशत वस्तु नेपालबाट निर्यात हुने गरेका छन्। 

हरेक वर्ष नेपालमा तातोपानी र रसुवागढी नाका भएर करिब आठ अर्ब रुपियाँभन्दा बढीको सामान आयात हुने गरेकोमा कोभिडपछि नाकामा बारम्बार अवरोध हुँदा वार्षिक चारदेखि पाँच अर्ब रुपियाँ बराबरको मात्र सामान आउने गरेको सङ्घले जनाएको छ। अरू बाँकी समान समुद्री मार्ग हुँदै भारतको कलकत्ता बन्दरगाहबाट नेपाल आउने गरेको छ। केरुङ र तातोपानीका नाका अवरोध भए पनि चीनका समानहरू समुद्री मार्गबाट आउने गरेको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बताउनुभयो।

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण दर बढेपछि चिनियाँ सरकारले तातोपानी नाका र रसुवागढी नाका बन्द गरेको छ। बन्दका कारण सयौँ कन्टेनर सामान नाकामा रोकिएका छन्। व्यवसायीका अनुसार दुवै नाकामा समान बोकेका चार सयभन्दा बढी कन्टेनर रोकिएका छन्। 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले साउन २५ गतेदेखि चीनबाट सामान आउन बन्द भएको जानकारी दिनुभयो। “अहिलेसम्म तातोपानी नाकाबाट कुनै पनि सामान आयात भएको छैन,” उहाँले भन्नुभयो, “नाका बन्द हुने र खुल्ने कुनै औपचारिक सूचना प्राप्त भएको छैन यदि खुलेमा भन्सारका कर्मचारी एलर्टमा रहेका छन्।” 

रसुवागढी नाकाका भन्सार प्रमुख राम मैनालीले नाका खुल्ने र बन्द हुनेबारे अनविज्ञ रहेको बताउनुभएको छ। चीनले कोरोना भाइरस सङ्क्रमणका कारण आयात रोक्ने कुनै जानकारी नदिएकाले अर्बौंको सामान चिनियाँ भू–भागमा अलपत्र परेको बताउनुभयो।

दशैँ आउँदा एक/दुई महिनाअघिदेखि नै व्यवसायीले चिनियाँ सामान आयात गर्न सुरु गर्छन्। नेपालमा चिनियाँ सामग्री धेरै आयात हुन्छ। अन्य देशभन्दा चीनबाट आयातित सामान सस्तो पर्ने भएकाले बजारमा यसको खपत धेरै हुने गर्छन्। चाडपर्वको बेला बजारमा खपत बढी धेरै हुने हुँदा व्यवसायीले चीनबाट ठूलो परिणाममा सामान ल्याउने गर्छन्। 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले केरुङ नाका र तातोपानी नाका बन्द हुँदा झन्डै चार सय सङ्ख्यामा सामान बोकेका कन्टेनर राकिएका हुन्। लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक सामान, झोला, कच्चा पदार्थ र मेसिनरी सामान रोकिएको उहाँले जानकारी दिनुभुयो। “केही सामान बोर्डरमा आएर रोकिएका छन्, कति बाटोमै रहेका छन, ती सामान समयमा आउन नसक्दा दशैँमा बजारमा अभाव हुने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो। भूकम्प, कोभिड, पहिरोको बहाना देखाउँदै बर्सेनि नाका बन्द हुने गर्छ, चीनबाट सामान ल्याउने सिजन नै अहिले हो उहाँले भन्नुभयो, “समयमा सामान आउन नसक्दा बजारमा अभाव भई मूल्य बढ्ने र व्यवसायीको नोक्सान बेहोर्नुपर्छ।”

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले चिनियाँ बाटोमा अलपत्र सामान फेरि उतै फर्काएर समुद्री मार्गमार्फत व्यापारी, व्यवसायीले सामान ल्याउने तयारी गरिरहेको पीडा सुनाउनुभयो। यसले लागत बढ्ने हुँदा व्यापारी र उपभोक्ताहरू मारमा पर्ने उहाँले बताउनुभयो। बाटोमै रोकिएका सामानहरू चिनियाँ सरकारले नाका भित्र्याउन दिनुपर्ने उहाँले चीन सरकारलाई आग्रह गर्नुभएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले नाका बन्द हुँदा बाटोमा रोकिएका सामान खुलाउन औपचारिक रूपमा छलफल गरिरहेको जानकारी दिनुभयो। नाका खुलाउनका लागि सिन्धुपाल्चोकका व्यापारीहरूले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सरोकारवालालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन्। 

चीनस्थित नेपाली महावाणिज्य दूतावासले कोरोना सङ्क्रमण बढ्दै गएकाले तत्काल चिनियाँ नाका खुल्ने सम्भावना नभएको बताएको छ। सिगात्सो, केरुङ तथा न्यालमजस्ता व्यापारिक मार्गका सहरहरूमा कोरोनाको सङ्क्रमण बढिरहेको र ती स्थानमा पूर्ण लकडाउन जारी रहेकाले तत्काल नाका खोल्ने सम्भावना कम देखिएको महावाणिज्य दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ। तिब्बतमा हाल स्वास्थ्य क्षेत्रजस्तो अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द रहेको कार्यालयले जनाएको छ।