‘लेकसाइड सर्किट’ घोषणा गर्ने तयारी
2022-08-25 17:12:27cri
Share with:

पर्यटकीय स्थल चितवनमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज र महाभारत पहाड शृङ्खलाबीचको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा रहेका तालतलैयालाई समेटेर भरतपुर महानगरपालिकाले ‘लेकसाइड सर्किट’ घोषणा गर्न लागेको गोरखापत्र अनलाइनले लेखेको छ। 

महानगरका पर्यटनविज्ञ डा. विश्वराज सुवेदीले पर्यटकलाई केन्द्रित गरेर ‘लेकसाइड सर्किट’ घोषणा गर्न लागिएको जानकारी दिनुभयो।  “हामीले यसको अध्ययन पूरा गरेर पूर्वाधार बनाउन महानगरमा प्रस्ताव प्रस्तुत गरिसकेका छौँ। दशैँँको अवसर पारेर हामी चितवनमा पर्यटकका लागि नयाँ गन्तव्य घोषणाको तयारीमा छौँ,” विज्ञ डा. सुवेदीले भन्नुभयो।

‘लेकसाडड सर्किट’अन्तर्गत बरन्डाभार वन क्षेत्रभित्र रहेका टाइगर ताल, राइनो ताल, बीसहजारी ताल, बाटुली पोखरी, किङ्ग फिसर ताल, अट्ठाइस हजार ताल र कसरा ताललाई समेटेर विशेष प्याकेज विकास गरिएको छ। यहाँ पैदल यात्रा, साइक्लिङ र जिप सफारीका कार्यक्रम समावेश गर्ने तयारी छ। बीसहजारी ताल क्षेत्र विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्र हो। 

यस क्षेत्रमा बाघ, गैँडालगायत ६४ किसिमका स्तनधारी जनावर, छ सय प्रजातिका चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा, ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उनिउँ, एक सयभन्दा बढी प्रकारका अरू वनस्पति रहेका कारण पनि यो पर्यापर्यटनका लागि उपयुक्त हुने अध्ययनमा उल्लेख छ। 

विश्वमा अहिले एक अर्ब ५० करोड पर्यटक भ्रमणका लागि निस्कन्छन्। तीमध्ये पर्यापर्यटनमा ७ प्रतिशत जाने गरेका छन्। यो तथ्यले पनि अहिले विश्वभरि झन्डै १० करोड पर्यटक पर्यापर्यटनका क्षेत्र अवलोकनका लागि हिँड्ने गरेका छन्। यिनीहरूलाई नै केन्द्रित गरेर ‘लेकसाडड सर्किट’ घोषणाको तयारी भइरहेको विज्ञ डा. सुवेदीले बताउनुभयो। 

“कतिपय ठाउँमा अझै पनि साइकल लेन तथा जिप चल्ने सडक बनाउनुपर्छ। यी क्षेत्रको सरसफाइ र संरक्षण तथा प्रवद्र्धनमा लाग्ने हो भने यो क्षेत्रमा रहेको ३९ किलोमिटर क्षेत्र नै नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास हुनेछ,” उहाँले भन्नुभयो। अहिले चितवनमा हरेक वर्ष डेढ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन्। 

हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल सफारी, जङ्गल वाक गर्न आउने यी पर्यटकलाई पनि तालतलैया र चराचुरुङ्गी अवलोकनमा यो क्षेत्रमा लैजान सकिने क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो। चितवनमा नयाँ पर्यटकीय गन्तव्य बनाउन सके यसले अहिले चितवन आइरहेका पर्यटकको सङ्ख्या बढाउन र बसाइसमेत लम्बिन सक्ने 

थपलियाले बताउनुभयो। “अहिले चितवन आउने पर्यटकको औसत बसाइ २.४ दिन र खर्च १५० डलर छ, यदि नयाँ गन्तव्य बढाउन सकियो भने यसलाई पनि बढाएर ३.५ दिनदेखि पाँच दिनसम्म बनाउन सकिने र उनीहरूले गर्ने खर्चमा समेत दुई सय डलरदेखि २५० डलरसम्म बनाउन सकिने देखिन्छ,” थपलियाले भन्नुभयो। चितवनमा अहिले २३० वटा पर्यटकीयस्तरका होटलमा १० हजार पर्यटक राख्न सक्ने क्षमता छ।  ‘लेकसाइड सर्किट’जस्ता नयाँ पर्यटकीय गन्तव्यसहितका गतिविधिले सुविधासम्पन्न पर्यटकीय होटलको सङ्ख्यासमेत बढ्दै जाने थपलियाको भनाइ छ।