गौतमबुद्ध विमानस्थलमा हिमालय एयरलाइन्सको ट्रेनिङ फ्लाइट
2022-08-26 16:38:46cri
Share with:

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप एक एयरलाइन्सले उडान शुरु गरेको छ। चिनियाँ र नेपाली  संयुक्त लगानीको हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको हो। निर्माण सम्पन्न भई संचालनमा आएको तीन महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साझ ५ बजे सम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको रातोपाटी अनलाइनले लेखेको छ।

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको हो। यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो। अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले बताउनुभयो। 

गत जेठ दुई गतेबाट गौतमबुद्ध विमानस्थलमा व्यवसायिक उडान सुरु भएको हो। त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ। वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको दाहालले जानकारी दिनुभयो।