प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
2022-08-27 16:42:55cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

बुटवल–१० रामनगरमा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो। विसं. २०७१ साल पुसबाट निर्माण शुरु गरिएको सम्मेलन केन्द्र उद्घाटनपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन गर्न सहज हुने भएको छ।

सभाहल तथा प्रदर्शनी केन्द्र सङ्घीय सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड लागतमा निर्माण गरिएको हो। नेपालको झण्डा आकारमा तयार पारिएको सभा हल तत्कालै प्रयोगमा ल्याइने भएको छ।

सो हलमा ८७२ वटा कुर्सी जडान गरिएको छ भने सभाहलसहित छवटा बैठक हल र दुईवटा बहुउद्देश्यीय हल भवन तयार भएको छ। त्यस्तै, सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले सभाहल तयार भइसकेको बताउनुभयो।

आयोजना प्रमुख पन्थीका अनुसार सभाहलमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। त्यस्तै, लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्नेगरी भौतिक संरचना तयार पारिएको छ। सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ।