मकैका चार नयाँ जात सिफारिस
2022-08-27 16:45:43cri
Share with:

नेपालको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरले मकैका चारवटा नयाँ जात सिफारिस गरेको छ। सिफारिस गरिएका तीनवटा वर्णशङ्कर मकैको जातमा रामपुर हाइब्रिड (वर्णशङ्कर) १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ। वर्णशङ्कर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

यी नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्नेछ। प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्र सतहबाट आठ सय मिटरदेखि एक हजार छ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले जानकारी दिनुभयो। 

यसैगरी रामपुर १२ मकैको उत्पादन प्रतिहेक्टर ९.४४ मेट्रिक टन रहेको छ। यो तराई र भित्री मधेशमा लगाउन सकिन्छ। रामपुर हाइब्रिड १४ को उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ। यो मकै तराई, भित्री मधेश र मध्यपहाडमा लगाउन सकिने मकै प्रमुख कुँवरले जानकारी दिनुभयो। त्यस्तै रामपुर हाइब्रिड १६ मकैको उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ। यसलाई पनि तराई, भित्री मधेश तथा मध्यपहाडी क्षेत्रमा लगाउन सकिन्छ। सन् २०१८ मा सिफारिस रामपुर हाइब्रिड १० तराई र भित्री मधेशमा हिउँदे सिजनको समयमा लगाउन मिल्ने कार्यक्रमका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले जानकारी दिनुभयो। यो जातको मकैको उत्पादन प्रतिहेक्टर ८.०५ मेट्रिक टन रहेको छ।  

यसअघि मकैबाली अनुसन्धान कार्यक्रमले गौरव हाइब्रिड सन् २००३ मा, रामपुर हाइब्रिड २ सन् २०१२, रामपुर हाइब्रिड ४ सन् २०१६, रामपुर हाइब्रिड ६ सन् २०१६, रामपुर हाइब्रिड ८ सन् २०१८ मा सिफारिस गरेको थियो। रामपुर ४ र ६ भित्री मधेश र तराईको हिउँदे सिजनका लागि सिफारिस गरेको थियो। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विकास गर्ने नयाँ जातको मकैको बीउ नेपालको मागअनुसार पु-याउन नसकेपछि भारतबाट आउने हाइब्रिड बीउले बजार ओगटेको छ। 

चितवनमा खुला सेचित मकै रामपुर कम्पोजिट जातको बढी लगाइँदै आएको छ। यो २०३२ सालदेखि लगाइँदै आएको हो। यो मकै ११० देखि ११५ दिनमा पाक्छ। यो जातको मकै तराई, भित्री मधेश र पहाडका लागि सिफारिस गरिएको थियो। छोटो समयमा पाक्ने मकैका रूपमा अरुण २, ४ र ६ जात लगाउने गरिएको छ। 

हाल नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब १८ प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ। विदेशबाट आयात गरिने हाइब्रिड बीउ प्रतिस्थापन गर्न स्वदेशमै विकास गरिएका हाइब्रिड बीउ उत्पादन गर्न आवश्यक भएको राष्ट्रिय मकैबाली कार्यक्रमले जनाएको छ। 

कार्यालयका अनुसार बहुराष्ट्रिय कम्पनीका विकसित हाइब्रिड ५० भन्दा माथि मकैका जात नेपालका लागि हालसम्मको सूचीकृत गरिएको छ। नेपालले लामो समयको अनुसन्धानबाट हाइब्रिड मकै विकास गरेको भए पनि रामपुर हाइब्रिड १० विकासपछि मकैको उत्पादकत्व बढेको छ। २०६१ सालमा विकास गरिएको गौरव हाइब्रिड मकै पहिलो हाइब्रिड मकै हो तर किसानको खेतबारीसम्म पुग्न सकेन। राम्रो भाले र पोथीको मिलन हुन समय नमिल्ने हुँदा राम्रो उत्पादन गर्न नसकेको कार्यालयले जनाएको छ। 

अहिले रामपुर हाइब्रिड १२, १४, १६ विकास गरेको र किसानको खेतबारी पुग्दै गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत (बाली प्रजननकर्ता) मनोज कँडेलले जानकारी दिनुभयो।