चीनमा हुने कालो चिया गुणस्तर मूल्यांकन प्रतियोगितामा नेपाली कालो चियाले प्रतिस्पर्धा गर्ने
2022-08-27 16:38:47cri
Share with:

चीनको फुआन शहरमा आयोजना हुने 'दोस्रो विश्व कालो चिया गुणस्तर मूल्यांकन प्रतियोगिता'मा नेपाली कालो चिया प्रतिस्पर्धाका लागि पठाइने भएको छ। चाइना टी मार्केटिङ एसोसिएसनको आयोजना र नेपाली राजदूतावास बेइजिङको सहआयोजनामा आगामी सेक्टेम्बर २० र २१ मा हुने सो प्रतियोगितामा नेपाली कालो चिया पनि प्रतिस्पर्धाका लागि पठाइने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको शिलापत्र अनलाइनले लेखेको छ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली चिया उत्पादनक/व्यवसायीहरूले प्रत्येक नमुनाका लागि २ सय ५० ग्रामका तीनवटा प्याकेट गरी कुल ७ सय ५० ग्राम चियाको नमुना र विवरणसहितको रजिस्ट्रेसन फारम भर्न बोर्डले आग्रह गरेको छ।

बोर्डले सूचना प्रकाशित गरी यही भदौ १९ गतेसम्ममा इच्छुक नेपाली चिया उत्पादक तथा व्यवसायीले चियाको नमुना र विवरण फारम पेस गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।

चिनियाँ बजारमा कालो चियाको विविधता अभिवृद्धि गर्ने उद्देश्यले चाइना टी मार्केटिङ एसोसिएसनले उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ।