आइतबारदेखि मतदाता नामावली अद्यावधिक
2022-08-28 15:50:10cri
Share with:

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। आयोगका अनुसार १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुने छन्। नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको नागरिक अनलाइनले लेखेको छ।

सरकारले गत साउन १९ गते निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो। मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।