नेपाल, भारत र चीनको विकासका लागि त्रिपक्षीय अवधारणा आवश्यक रहेको पूर्व प्रम दाहालको ठहर
2022-08-29 15:29:25cri
Share with:

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे यो क्षेत्र र विश्वमै दूरगामी परिणामहरु आउने बताउनुभएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपाल संस्थाद्ववारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन कार्यक्रममा दाहालले भन्नुभयो,‘एक दशकअघि मैले नेपाल, भारत र चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको थिएँ । नेपाल, भारत र चीनबीच ‘बफर’ क्षेत्र नभई बरु दुई मुलुक बीचको ‘भाइब्रेन्ट ब्रिज’बन्नसक्छ।’

दाहालले नेपाललाई उनीहरु (भारत र चीन) को मुख्य चासो थाहा भएको पनि बताउनुभयो। ‘र, हामी सबै उनीहरुको चासोमा ध्यान दिन्छौं र सोहीअनुसार सम्बोधन पनि गर्छौं,’ उहाँले भन्नुभयो।

यस्तै, उपसभामुख पुष्पा भुसालले नेपालले पञ्चशीलको आधारमा आफ्नो विदेशनीति सञ्चालन गरेको उल्लेख गर्दै नेपालीहरु शान्तिप्रिय रहेको बताउनुभयो। उहाँले नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघअन्तर्गत रहेर शान्ति स्थापना गरिरहेको पनि बताउनुभयो।

‘अन्तर्राष्ट्रिय सम्बन्ध: नेपाल र विश्व व्यवस्था’ विषयक कार्यक्रममा नेपाल र भारतका २६ जनाले शोधपत्र प्रस्तुत गरेका थिए। काठमाडौंमा भएको कार्यक्रममा नेपालबाट ११ र भारतबाट १५ जनाले नेपाल–भारत सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न विषयमा शोधपत्र प्रस्तुत गरेका थिए।