‘अर्को वर्षबाट विद्युत् आयातभन्दा बढी निर्यात’
2022-08-29 15:31:36cri
Share with:

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भारतसँगको विद्युत् व्यापार रहेको बताउनुभएको छ। आफूले मन्त्रालयको जिम्मेवारी लिएपछि गरेका काम र आगामी योजनाबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारलाई आफूले प्राथमिकतामा राखेर काम गरेको र त्यसमा सफल पनि भएको दाबी गर्नुभयो।

‘अन्तर्राष्ट्रिय विद्युत् व्यापार म आएपछि सुरु भएको हो । गत वर्ष ९ मेगावाट र यस वर्षबाट ३६४ मेगावाट बिजुली भारतमा बेचिरहेका छौं,’ भुसालले भन्नुभयो ‘बंगलादेशसँग विद्युत् व्यापारका लागि पनि पहल भइरहेको छ ।’ मासिक २० युनिटसम्मको बिजुली खपतलाई निःशुल्क गरेको, सिँचाइ प्रयोजनका लागि महसुल घटाएर प्रतियुनिट २ रुपैयाँ कायम गरेको र सबै गार्हस्थ्य वर्गका उपभोक्ताका लागि पनि समग्र विद्युत् महसुल दर घटाएको उहाँले बताउनुभयो। विद्युत् महसुल घटाउँदा विद्युत् खपत बढेको समेत उहाँको दाबी छ । अघिल्लो वर्षको प्रतिव्यक्ति विद्युत् खपत ३ सय २५ युनिटबाट बढेर गत वर्ष ३ सय ५० युनिट पुगेको मन्त्रालयले जनाएको छ ।

१२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना सरकार आफैंले बनाउने निर्णय गरेर कम्पनी स्थापनाको प्रक्रिया थालिसेकेको मन्त्रालयको भनाइ छ । कम्पनी दर्ताका लागि चाहिने आर्थिक पक्षको व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएकामा हालसम्म त्यसको जवाफ पाउन नसकेको कान्तिपुर अनलाइनले जनाएको छ ।

गत आर्थिक वर्षमा करिब पौने ४ अर्ब रुपैयाँको बिजुली बिक्री भएकामा चालु आर्थिक वर्षको साउनमा मात्र करिब २ अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेचेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । ‘हामीले अहिले उत्पादन भइरहेको शतप्रतिशत बिजुली खपत गरेका छौं । कहीँकतै खेर गएको छ । बढी भएको बिजुली भारतमा बेचिरहेका छौं,’ घिसिङले भन्नुभयो।