यस वर्षको पहिलो समूहद्वारा नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन
2022-08-29 15:30:13cri
Share with:

यस वर्षको पहिलो विदेशी पर्यटकको समूहले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको छ। हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको चौथो दिन पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेको हो। ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले विभिन्न मुलुकका ५६ जनाको टोलीले लाप्चाबाट शनिबार दिउँसो मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो।

 यो टोली स्थानीय वातावरणमा घुलमिल हुन दुई रात नाम्खा गाउँपालिका–६, लिमीको ताक्चीमा बसेको थियो । शनिबार बिहान ताक्चीबाट गाडीबाट चार घण्टामा यो टोली लाप्चा पुगेको लिम्बूले जानकारी दिनुभयो । शनिबार मौसम सफा भएले कैलाश दर्शन पनि सफल भएको छ ।

 शनिबारदेखि सुरु भएको मानसरोवर कैलाश दर्शन अब एक महिनासम्म निरन्तर चल्ने लिम्बूले बताउनुभयो । अन्य दुई टोली पनि लाप्चा जानका लागि ताक्चीमा तयारी अवस्थामा रहेको छ । यी दुई टोली ताक्चीबाट सोमबार सिमकोट फिर्ता हुने कार्यक्रम रहेको छ ।

 गोरखापत्र अनलाइनका अनुसार लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने विदेशी टोली भारतीय सद्गुरुको समूहकै पहिलो टोली हो । सद्गुरुसहित एक हजार चार सय धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ । भदौ १९ गते (सेप्टेम्बर ४)मा भारतीय सद्गुरु (जग्गी वासुदेव) सिमकोट आइपुुग्ने कार्यक्रम रहेको छ । सद्गुरुको टोलीलाई सिमकोटमा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने कार्यक्रम छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर कैलाश हिन्दुका लागि पवित्र तीर्थस्थल हो। कैलाश पुग्न सहज नभएका कारण बर्सेनि नेपाली र भारतीय पर्यटक लाप्चा पुग्ने गरेका छन् ।

 यस वर्ष हुम्ला भित्रिएका र आउने तय भएका पर्यटकको सङ्ख्या तीन वर्षयताकै सबैभन्दा धेरै हो । यसले यहाँका होटल तथा पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ।

गत वर्ष भदौमा सद्गुरुसहित ५० जनाको टोलीले सिमकोटबाट पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको थियो । गत वर्ष तीन सयभन्दा बढी आन्तरिक पर्यटकले पनि लाप्चाबाट दर्शन गरेका थिए । केही दिनअघिसम्म १०४ जना आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरिसकेका छन् ।

 चार दिनमा ३०२ जना पर्यटक हुम्ला भित्रिएका छन् । शनिबारसम्ममा ५२ जना सिमकोटमै छन् भने ६७ जना लेकधिङ्गामा छन्, बाँकी भने ताक्चीमा बास बस्नुहुनेछ। 

 हालसम्म हुम्ला आइपुगेका पर्यटक भारत, अमेरिका, मोरक्को, अस्ट्रेलिया, जर्मनलगायतका देशका छन् ।  पर्यटकको बासका लागि लेकधिङ्गा र ताक्चीमा एक­/एक सय पाल टाँगिएका छन् । पर्यटक ओसार्नका लागि दसवटा बोलेरो जिप प्रयोग गरिएको छ । पर्यटककै लागि तीनवटा हेलिकोप्टर सिमकोटमा रहँदै आएका छन् ।

 पर्यटकको भान्सा व्यवस्थापनका लागि आवश्यक खाद्य तथा अन्य सामग्री पैदल र हेलिकोप्टरबाट ढुवानी गरेर सिमकोट, लेकधिङ्गा र ताक्ची पु-याइएको छ।