नेपालमा तीज पर्व, महिलालाई बिदा। राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
2022-08-30 16:28:39cri
Share with:

आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ। हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन्। आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ। यस उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले शुभकामना दिनुभएको छ।

 

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन्।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

 

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् । अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ। यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो।

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभयो। ‘महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु,’ उहाँले उल्लेख गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ। साथै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।

तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभयो। साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभयो।अनलाइनखबर।