चिनियाँ हुवासिन सिमेन्टलाई व्यावसायिक उत्पादनको अनुमति
2022-08-30 16:26:58cri
Share with:

हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि व्यावसायिक उत्पादन सुरु गरेको हो। नापतौल तथा गुणस्तर विभागले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टलाई नेपाल गुणस्तर चिह्न (एनएस) दिएको हो।

 

आइतबार गुणस्तर चिह्न दिइएको तथा सोमबार उद्योगका प्रतिनिधिले गुणस्तर प्रमाणपत्र लिएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको विभागले गुणस्तर चिह्न प्राप्त गरेसँगै नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगको उत्पादन आन्तरिक बजारमा उपलब्ध हुने जनाएको छ।

 

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको उद्योगमा गत कात्तिक अन्तिम सातादेखि विद्युत उपलब्ध भएको थियो। धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मंसिरको दोस्रो सातादेखि उद्योगमा नियमित रुपमा बिजुली उपलब्ध गराइएको थियो । प्रसारण लाइन निर्माण उद्योग आफैंले गरेको हो। त्यसका लागि मात्रै करिब एक अर्ब बराबरको खर्च भएको बताइएको छ ।

 

तनहुँको तल्लो मस्र्याङ्दी विद्युतगृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारणलाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत उपलब्ध गराइएको छ । सो स्विचिङबाट सिमेन्ट उद्योगले कुल २० मेगावाट विद्युत लिनेछ।

 

आफ्नै चुनढुंगा खानीबाट उत्पादित चुनढुंगाबाट क्लिंकर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ। अत्याधुनिक कम्प्युटर प्रविधिबाट सम्पूर्ण उत्पादन प्रक्रियाको निरन्तर निगरानी हुने भएकाले गुणस्तरमा कुनै सम्झौता नगरिने उद्योगको दाबी छ।

कारोबार अनलाइनका अनुसार लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विविध कारणले थप तीन अर्ब लागत बढ्न गएको उद्योगले नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादनमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

 

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमित रुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ।

 

उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग रहेको भनिन्छ। तर, हाल नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ।