‘चीन र भारतसँग नभएका उत्पादन बढाएर प्रतिस्पर्धा गर्नुपर्नेः पौडेल
2022-08-31 15:46:17cri
Share with:

भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा भएका कारण नेपालले प्रतिष्पर्धालाई छलेर उनीहरुसँग प्रतिष्पर्धा नहुने उत्पादन निर्यात गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ। “अन्यथा हामी आयातमात्र गर्ने अवस्थामा पुग्छौं,” सोमबार सम्पादकहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीले के के चीजहरु निर्यात गर्न सक्छौं, ती चीजको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न सकिन्छ भन्ने कुरालाई सोच्नुपर्छ ।”

 

राष्ट्रका समस्यालाई हल गरेर अगाडि बढ्नका लागि लोकप्रिय नारा र भावनात्मक कुराको पछाडि लागेर मात्र सम्भव छैन भन्दै उहाँले लोकप्रिय नाराका पछि लागेर जलविद्युत आयोजनाहरु महँगो हुन गएको तथा विकासका लागि बाधक भएको बताउनुभयो। उहाँले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले जनता उचालेर आयोजना बन्नु आगाडि नै जग्गाको मुआब्जा महँगो बनाएको गुनासो गर्नुभएको कारोबार अनलाइनले लेखेको छ।

नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा ठूलो कुरा सुशासन हुनुपर्ने भन्दै उहाँले सुशासनको पक्षमा सबैले वकालत गर्न जरुरी भएको पनि बताउनुभयो । “सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ,” उहाँले भन्नुभयो, “नैतिक शक्ति नहुँदा सुशासन दिन सकिँदैन। नैतिक शक्ति जोसँग हुन्छ त्यसले मात्र भ्रष्टाचार, विसंगति, बेथितिका विरुद्ध आक्रामक हुन सक्छ।”

नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन नहुने भन्दै उहाँले राजनीतिक स्थिरता नभएकाले विकास हुन नसकेको बताउनुभयो। सम्पादकहरुको राय भने गठबन्धनका कारण भ्रष्टचार बढेको, सिद्धान्त तथा नैतिकताको राजनीति सकिएको अनि वर्तमान सरकार केपी ओलीको सरकारकै निरन्तरता भएको तर्क थियो।