काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिंदै
2022-09-01 16:51:28cri
Share with:

सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो। काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेको अनलाइनखबरमा समाचार छ। 

 

मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गर्नुभयो। रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उहाँले बताउनुभयो। रात्रिकालीन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउने उहाँको भनाइ थियो।

 

पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तिको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ। ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ। छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागि भएका थिए।दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न लागिएको हो। रात्रिकालीन सम्पदा यात्राले स्थानीयवासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ।