९ हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्भावना
2022-09-02 16:17:25cri
Share with:

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उहाँले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताउनुभयो।

 

विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको पुनको भनाइ थियो। सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिंदै उहाँले निकट भविष्यमै बंगलादेशको बजारसमेत नेपालका लागि खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जीएमआर) ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बंगलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताउनुभएको अन्नपूर्णपोस्टले लेखेको छ।

 

जीएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उहाँले बंगलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको स्पष्ट गर्नुभयो।

 

विश्वव्यापी बोलपत्रका माध्यमबाट जीएमआरले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो । आयोजनाको म्याद पटकपटक थप भए पनि थप प्रगति हुन सकेको छैन । पछिल्लोपटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ । जीएमआरले पाँच सय मेगावाट बिजुली बंगलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ।