गोरखामा तिब्बती भाषाको पढाइ
2022-09-02 16:06:29cri
Share with:

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ। गाउँपालिकाका विभिन्न विद्यालयहरूमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको हो। वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ६ सम्मका विद्यार्थीले तिब्बती भाषामा पढ्ने गरेको प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिनुभयो।

 

उनीहरूलाई भाषा पढाउने दुई जना शिक्षकका लागि लामा गुरुहरूले तलबभत्ताको व्यवस्था गरेका छन्। खेम्पो लामा गुरुहरूले पाठ्यक्रम र पाठ्यपुस्तकको पनि व्यवस्था गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

 

त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ। ‘यहाँ विद्यालय खुलेदेखि नै तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको छ’, प्रधानाध्यापक सञ्जय ढकालले भन्नुभयो, ‘विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षक राख्न सहयोग गर्नुभएको छ।’ विद्यार्थीहरूमा स्थानीय पाठ्यक्रमको धेरै महत्व रहेको उहाँले बताउनुभयो।

 

 ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौंमा पाइने रहेछ’, प्रअ ढकालले भन्नुभयो, ‘त्यो पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ। स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पुर्‍याउँछ।’

 

वडा नं. ४ को नुब्री आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने प्रधानाध्यापक गणेश ढकालले बताउनुभयो।

यसअघि भोटभाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको थियो। सो संस्था नवीकरण नभएपछि विद्यालयको निजीस्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको प्रअ ढकालले बताउनुभयो।

 

सेराङ्गी आधारभूत विद्यालयका ८८ जना विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेको प्रअ इन्दबहादुर गुरुङले बताउनुभयो। त्यहाँ स्थानीय भोट भाषामा पढाउन सोलुखुम्बुबाट शिक्षक आएका छन्। शिक्षकलाई सिड नेपाल नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको प्रअ गुरुङले जानकारी दिनुभयो।

 

चुमनुब्री भोटे तथा लामा समुदायको बसोबास भएको गाउँपालिका हो। यहाँका वडा नं. १, २, ४, ५, ६ र ७ मा सतप्रतिशत भोटे र लामा समुदायको बसोबास छ। बुद्ध धर्म अवलम्बन गर्ने उनीहरू तिब्बती भाषा, संस्कार र संस्कृतिका अनुयायी हुन्। यहाँका विद्यालयमा तिब्बती भाषा पठनपाठन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्न गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताउनुभयो।

 

चारवटा वडामा यसअघिदेखि नै पठनपाठन भइरहेको र अब वडा नं. ६ र ७ मा पनि पठनपाठन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउनुहुन्छ।