साना उद्योग प्रवर्द्धनका लागि समझदारी
2022-09-03 16:00:34cri
Share with:

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच सम्झौता भएको गोरखापत्र अनलाइनले जनाएको छ।

 

लघु, घरेलु तथा साना उद्यम विकास गर्न आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी समझदारी भएको हो ।  प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारको नीति राष्ट्रिय उत्पादन र उपभोग वृद्धि गर्ने भएकाले यस समझदारीले आफ्नै उत्पादन वृद्धि गर्ने मद्दत पुग्ने बताउनुभयो । उत्पादन वृद्धि गरेर आत्मनिर्भर अर्थतन्त्र बन्ने सरकारको लक्ष्य रहेको र केन्द्रले नयाँनयाँ प्रविधि आविष्कार गर्ने भएकाले यसबाट उत्पादन वृद्धि गर्न सघाउ पुग्ने मन्त्री बडूले जानकारी दिनुभयो । भविष्यमा यस्तो सहयोग र सहकार्य आविष्कार केन्द्रसँग नियमित रूपमा हुने मन्त्री बडूले बताउनुभयो । 

 

निजी क्षेत्रको सहकार्यमा आपसमा प्रविधि तालिम आदानप्रदान गरेर राष्ट्रिय स्तरको लक्ष्य पूरा गर्न सकिने उहाँले जानकारी दिनुभयो । सो अवसरमा उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले लघु, घरेलु तथा साना उद्योगबाट स्थानीय स्तरमा रोजगारी सिर्जना गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभयो। 

केन्द्रका प्रमुख डा. महावीर पुनले साना उद्योगलाई लक्षित गरेर प्रविधि अनुसन्धान गर्दै आएको बताउनुभयो । मन्त्रालयबाट प्राप्त ४० लाख रुपियाँले सिन्के धूप बनाउने मेसिन, दात कोट्याउने सिन्का बनाउने मेसिन, कोदोको दाना छुट्याउने मेसिन र बाँसबाट चोयाको डोको, मुढा बढाउने मेसिन (प्रविधि) अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो । यस्तै झाडु, बाँसको मुढा, डोका बनाउनेलगायत मेसिन बनाउन खर्च गरिने पुनले जानकारी दिनुभयो । 

 

आगामी वैशाखसम्म प्रविधि विकास गरिसक्ने उहाँले जानकारी दिनुभयो । केन्द्रले ठूलो प्रविधि विकास गर्न सक्दैन, स्थापनाको चार वर्षमा सानासाना प्रविधि विकास गर्दै आएको र आगामी पाँच–दस वर्षमा ठूला प्रविधि विकास गरिने उहाँले जानकारी दिनुभयो।