नेपालको आर्थिक स्थिति सुधारोन्मुख रहेको अर्थमन्त्री र राष्ट्रबैंकको ठहर
2022-09-03 15:57:57cri
Share with:

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन।’

अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उहाँले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गर्नुभयो। उहाँले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

यसैगरी नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीका अनुसार अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका छन । तर, जोखिम कम नभएको भन्दै उहाँले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताउनुभयो। सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको बताउँदै उहाँले बाह्य क्षेत्रमा जोखिम कम नभएकाले अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने अनलाइनखबरले लेखेको छ। 

पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उहाँले उल्लेख गर्नुभयो। नेपालमा समेत मूल्यको दबाब यथावत रहेको भन्दै उहाले तरलता सुधारका उपायसमेत सुझाउनुभयो। ‘तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिन्छ,यो बाह्य क्षेत्रका कारणले समस्या आएको हो’ उहाँले भन्नुभयो, ‘आन्तरिक रुपमा पैसा त जसले ऋण लिनुभएको छ, उहाँहरुसँगै छ नि, तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्छ।’सरकारको खर्च बढाउँदा, कम्पोनेन्ट निजी क्षेत्रले ऋण तिरिदिएको तरलताको अभाव सुधार हुँदै जाने उहाँको भनाइ छ। यसमा बैङ्करले पनि अनुशासनमा बस्नु पर्ने र हतारिन नहुने उहाँको ठहर छ।