विदेशी पर्यटक आगमनमा सुधार, अफसिजनमा पनि आगमन बढेपछि पर्यटन व्यवसायी उत्साहित
2022-09-04 15:56:56cri
Share with:

कोभिड-१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ। अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुवाती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउँछ। अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन्। यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो।

 

बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन। तुलनात्मक रुपमा अगष्टमा कम पर्यटक आउँछन्। वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बोर्डले जनाएको छ। सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ। यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन्।

 

समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयोवर्षको सुरुवातदेखि नै पर्यटक आगमन सुधार (७५ प्रतिशतसम्म) 'रिभाइब' भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको अन्नपूर्णपोस्टमा खबर छ।

 

'अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बङ्गलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ', निर्देशक लामिछानेले भन्नुभयो। इन्धनको मूल्यवृद्धि भएसँगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महङ्गो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उहाँको ठहर छ।

यसैबीच विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमालहरूको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष 'अफ सिजन'मा पनि पर्यटक आवागमन रोकिएको छैन। सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र 'अफ सिजन'मा प्रायः सुनसान हुने गर्दछ। तर यस पटक भने 'अफ सिजन'मा पनि पर्यटक आवागमन नियमित हुँदा व्यवसायीहरू उत्साहित बनेका छन्।

खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार, असोज, कार्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ। विगतका वर्षहरूमा सिजन सकिएपछि सुनसान हुने खुम्बु क्षेत्रमा यस वर्ष पर्यटकको आवागमन नियमित हुँदा आफूहरूमा उत्साह थपेको नाम्चेकी होटल व्यवसायी आङ डोल्मा शेर्पाले बताउनुभयो। सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आवागमन नरोकिदा लुक्लामा हवाई उडान समेत बाक्लिएको छ। तर मौसमले भने केही चुनौति थपेको तारा एयरलाइन्स लुक्लाका इन्चार्ज अमृत मगरले बताउनुभयो।

 

'अफ सिजन'मा खुम्बु भ्रमण गर्ने पर्यटकहरूबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ३२ लाख ७० हजार १०० रुपैयाँ राजस्व संकलन गरेको छ। गत असारदेखि भदौ १५ सम्म १२९९ विदेशी र १७६ नेपाली पर्यटक प्रवेश शुल्कबाट सो राजस्व संकलन भएको हो। निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १५००, अन्य मुलुकका पर्यटकबाट ३००० र नेपाली पर्यटकबाट १०० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। पर्यटक संख्या बढेसँगै उनीहरूको इन्ट्रि तथा चेक जाँच गर्नमा निकुञ्जका कर्मचारीहको व्यस्तता बढेको निकुञ्जका निमित्त प्रमुख विष्णु रोकायले बताउनुभयो।

अघिल्लो वर्षहरूमा कोरोनाका कारण लामो समय घर तथा कोठाभित्रै सीमित बनेका पर्यटकहरू अहिले 'अफ सिजन'को समेत प्रवाह नगरि भ्रमणमा निस्किन थालेका छन्।