चीन जोड्ने खाँदबारी किमाथाङ्का सडकमा ४१ प्रतिशत प्रगति
2022-09-06 15:52:29CRI
Share with:

चीन र भारत जोड्ने सबभन्दा छोटो दुरीको कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको ४१ प्रतिशत भौतिक प्रगति भएको छ। यो खण्डको लम्बाइ १६२ किलोमिटर छ। भारतको सिमाना जोगबनीदेखि चीनको सिमाना किमाथांका जोड्ने त्रिदेशीय कोसी करिडोरलाई व्यापारिक मार्गका रूपमा लिइएको छ। यो मार्गबाट भारत र चीन मात्र नभई बंगलादेश र भुटानलाई पनि जोडेर आर्थिक लाभ लिन सकिने विश्वास गरिएको सेतोपाटी अनलाइनले लेखेको छ।

विराटनगरको रानी भन्सार नाकाबाट धरान, धनकुटा, हिले, खाँदबारी हुँदै किमाथांकासम्म फैलिएको यो करिडोरको कुल लम्बाइ तीन सय ९० किलोमिटर छ।

यसमध्ये खाँदबारी-किमाथांका सडक आर्थिक वर्ष २०६५/०६६ सालदेखि बनाउन सुरू गरिएको हो। उत्तर- दक्षिण (कोसी) व्यापारिक मार्ग विस्तार आयोजनाका रूपमा यो सडकखण्ड २०७५ सालमै निर्माण पूरा गर्ने लक्ष्य अघि सारिएको थियो। तर धेरै ठाउँमा ठूलाठूला पहाड तथा चट्टान भएका कारण सडक खोल्न धेरै समय लागेको आयोजनाले बताएको छ।

त्यस्तै सडकको उत्तरतर्फ कतिपय स्थानमा वर्षमा चार महिना मात्रै मुस्किलले काम गर्न सकिने हुँदा पनि ढिलाइ भएको उल्लेख गरिएको छ। चट्टानकै कारण यो सडकखण्डको १४ किलोमिटरमा ट्र्याक खोल्नै सकिएको छैन। आयोजनाले नसकेपछि सरकारले च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटरमा ट्र्याक खोल्ने जिम्मा सेनालाई दिएको छ। मन्त्रिपरिषद बैठकबाट निर्णय गर्दै २०७६ साल भदौमा ट्र्याक खोल्ने जिम्मा सेनालाई दिइएको हो।

अझसम्म पनि उक्त ट्र्याक खोल्न बाँकी रहेको उत्तर दक्षिण (कोसी) सडक आयोजना प्रमुख दिपेश रजकले जानकारी दिनुभयो। 'एकदमै कडा चट्टान भएकाले च्याम्ताङदेखि घोङगोप्पासम्म सेनालाई जिम्मा दिइएको हो। अरू सबै ट्र्याक खोलिसकिएको छ। अब खोल्न बाँकी यही खण्ड मात्र हो,' आयोजना प्रमुख रजकले भन्नुभयो।

आयोजनाका अनुसार खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किलोमिटर सडक निर्माण भएको छ। नेपाल-चीन सीमा किमाथांकाबाट घोङगोप्पासम्म १४ किलोमिटर ट्र्याक पनि खुलिसकेको छ। अब बीचको खण्ड मात्रै बाँकी छ। यो खण्ड निकै कठिन मानिएको छ। यो ट्र्याक खोल्नेबित्तिकै संखुवासभा चीनसँग जोडिन्छ।

आयोजना प्रमुख रजकका अनुसार हाल खाँदबारी–किमाथांका सडकखण्डको ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लगाइएको छ। खाँदबारीको लभिङ हिलदेखि अरुण तेस्रोको ड्याम-साइटसम्मको ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लगाइएको हो। उक्त खण्डमा करिब १० प्रतिशत प्रगति भएको छ। केही खण्डमा अहिले यातायात सञ्चालन छ। अरुण तेस्रो निर्माणका लागि आवश्यक सामग्री बोकेर भारी गाडीहरू पनि ओहोरदोहोर गर्छन्। वर्षाको समयमा सडक निकै हिलाम्मे र अप्ठ्यारो भइरहेको आयोजना प्रमुख रजक बताउनुहुन्छ।

'ग्राभेल गरिएको सडक पनि वर्खामा त हिलाम्मे छ। साह्रै अप्ठ्यारो छ,' उहाँले भन्नुभयो। यो सडकखण्डको समग्र वित्तीय प्रगति ३६ प्रतिशतभन्दा धेरै भएको उहाँले बताउनुभयो। 'यो सडकका लागि कुल विनियोजित बजेट ११ अर्ब ९३ करोड रूपैयाँ हो। त्योमध्ये चार अर्ब ३८ करोड खर्च भइसकेको छ,' उहाँले भन्नुभयो।

यो सडक आर्थिक वर्ष २०८३/०८४ सम्म पूरा गर्ने योजना अघि सारिएको छ। सेनाले जिम्मा पाएको १४ किलोमिटर ट्र्याक खोल्ने र अरू काममा पनि अप्ठ्यारा नआउने हो भने लक्षित समयमै काम सकिने विश्वास रजकले व्यक्त गर्नुभयो। 'बजेट पनि समयमै उपलब्ध हुने हो भने समयमै काम पूरा हुन्छ,' उहाँले भन्नुभयो।

सडक स्तरोन्नतिका लागि संखुवासभाको खाँदबारीमा उत्तरदक्षिण (कोसी) सडक योजनाको कार्यालय स्थापना गरिएको छ। हाल खाँदबारीको लभिङ हिललाई जिरो प्वाइन्ट मानेर किमाथांका (१६२ किलोमिटर) सम्म सडक निर्माण तथा स्तरोन्नति भइरहेको छ।

यो सडकले खाँदबारी नगरपालिका चिचिला गाउँपालिका, मकालु गाउँपालिका र उत्तरी भूभागमा अवस्थित भोटखोला गाउँपालिका हुँदै किमाथांका सिमानाबाट चीनमा जोड्छ। यो व्यापारिक मार्गबाट आर्थिक क्रियाकलाप वृद्धि हुने अपेक्षा गरिएको छ। त्यस्तै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा वृद्धि गर्ने लक्ष्य छ। यही मार्गबाट पूर्वी नेपालमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पुर्‍याउने लक्ष्य छ।