किसानकै पहलमा स्याउ उत्सव
2022-09-08 16:18:37CRI
Share with:

ठूलीभेरी नगरपालिका–१, डोल्पाका दशरथ रोकायाले जिल्लामा पहिलो पटक स्याउ उत्सवको आयोजना गर्नुभएको छ। बेगी स्याउ तथा फलफूल उत्पादन उद्योगमार्फत स्याउ उत्पादनमा लाग्नुभएका किसान रोकायाले स्याउको प्रवद्र्धन गर्ने उद्देश्यसहित एकल प्रयासमा सो उत्सव आयोजना गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

उहाँले प्रचारप्रसार र पहिचानका लागि अर्काको मुख ताकेर बस्नुभन्दा आफैँले केही गर्नुपर्छ भनेर यो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो। कृषक रोकायले स्याउका तीन सय बिरुवा लगाउनुभएको छ। 

यतिखेर त्रिपुरासुन्दरी नगरपालिका–४, रङ्ग ठूलीभेरी नगरपालिका–१, थाला जुफाललगायतका गाउँ स्याउले रङ्गिएका छन्। यहाँका स्याउ कृषक गाउँमा पुग्ने आगन्तुकलाई सत्कार स्वरूप टन्न स्याउ खान दिने र फर्कंदा स्याउको उपहारसहित पठाउने गरेको जनाएका छन्। यस पटक विगतको तुलनामा धेरै स्याउ फलेको छ। रङ्ग गाउँका कृषकको फारममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय पनि मानिन्छ। डोल्पामा विशेषगरी ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफाल, डाँगीवाडा, लोचा, तिप्ला र त्रिपुरासुन्दरी नगरपालिकाको रङ्ग, सुउँ र जिऊ गाउँमा स्याउको व्यावसायिक खेती गरिँदै आएको छ।

यत्तिखेर लटरम्म स्याउको हाँगो नै झुकाएर फलेका रोयल जातको स्याउ पाकेर रङ्गेली स्याउ कृषकलाई टिप्न भ्याइनभ्याइ छ। गोल्डेन जातको स्याउ पाक्ने तयारीमा छ। रङ्ग गाउँकी कमला बुढा विगतको तुलनामा धेरै स्याउ फलेको बताउनुहुन्छ। तर, बजार अभावमा फारममै झरेर कुहिन थालेको उहाँको भनाइ छ।

विगतमा भदौको पहिलो हप्तामै स्याउ टिप्न सुरु गर्ने डोल्पाली कृषक यो वर्ष भने भदौको अन्तिम साताबाट मात्र स्याउ टिप्न सुरु गरेका छन्। हिमाली जिल्ला डोल्पामा फलेको स्याउ प्रतिकेजी १८ देखि ३० रुपियाँका दरले बिक्री गर्दा पनि स्याउ नबिक्ने स्याउ कृषक तथा त्रिपुरासुन्दरी नगरपालिका–४, रङ्ग गाउँका श्रीदल बुढाले बताउनुभयो। बुढाको फार्ममा लगाइएका २६० भन्दा बढी रmखमा स्याउ फलेको छ। रुकुम, जाजरकोट र सल्यानका व्यापारी नआएपछि नटिपुन्जेल फार्ममा र टिपिसकेपछि कोल्डस्टोरमै कुहिने गरेको छ।