चिनियाँ सहयोगमा निर्मित पोखरा विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय हुने
2022-09-09 15:53:20CRI
Share with:

चिनियाँ सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आवश्यक तयारी तीव्र पार्न व्यवसायीले जोड दिएका छन्। होटल संघ पोखराको ४१ औं वार्षिक साधारणसभामा बिहीबार व्यवसायीले विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय नै हुनुपर्ने माग गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

लामो दबाबपछि विमानस्थलको निर्माण अनशन नै बसेर सुरुआत गराउनुपरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले सम्झिनुभयो। नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रूपमा अगाडि बढाउने चलखेल हुन सक्ने भएकाले त्यसविरुद्ध सम्पूर्ण गण्डकी प्रदेशवासी एक हुनुपर्ने उहाँको भनाइ छ।

विमानस्थल सञ्चालनमा ल्याउनुपूर्व गर्नुपर्ने रिट्ठेपानी डाँडा कटान र ल्यान्डफिलसाइटको स्थान्तरण समयमै हुनुपर्नेमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको जोड छ । ‘डाँडा कटान सक्न ६ महिनासम्म लाग्ने कुरा उठेको छ,’ उहाँले भन्नुभयो, ‘यसले विमानस्थल सञ्चालन पछि धकेलिन सक्छ । आवश्यक परे परिषद् र यसअन्तर्गतका संस्था डोजर लिएर डाँडा काट्न जानुपर्छ ।’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालदेखि विमानस्थल सञ्चालनसम्मका कामप्रति आफू सचेत रहेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालमा केन्द्रीय हानको पूर्ण सहयोग रहने होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाको भनाइ छ । ‘अब सरकारको मात्र मुख ताकेर बस्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘प्रवर्द्धनलगायत काममा व्यवसायी आफैं अगाडि बढ्नुपर्ने बेला आएको छ ।’ पर्यटक आगमन दरको अवस्था हेर्दा अहिले पनि नेपालको पर्यटन जटिल अवस्थामा रहेको पुष्टि हुने उहाँले सुनाउनुभयो । ‘सरकारले पर्यटन क्षेत्रलाई पनि उद्योगको मान्यता दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको बजेटमा पर्यटनका लागि विगतमा जस्तो राहतका कार्यक्रम नसमेटिनु आश्चर्यलाग्दो छ ।’