चुनावपछि सरकारको ध्यान आर्थिक विकासमा जाने नेपालका सञ्चारमन्त्रीको भनाइ
2022-09-10 17:07:31CRI
Share with:

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुने बताउनुभएको छ। निर्वाचित जनप्रतिनिधिको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनपछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताउनु भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्नु हुँदै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढ्न निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो। 

निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उहाँको भनाइ छ। मन्त्री कार्कीले भन्नुभयो, ‘‘अहिले नेपाल निर्वाचनको संघारमा छ।  नेपालको संविधान २०७२ को कार्यान्वयनमा आएपछि यो सात वर्षको अवधिमा राजनीतिक क्षेत्रमा निकै काम भए। संघ, प्रदेश र स्थानीय तहका संरचना तयार भए। तीन वटै तहका जनप्रतिनिधिको आफ्नो एक कार्यकाल पूरा गरिसकेका छन्। यसबाट राजनीतिक रुपमा जग बसेको छ। अब हामीले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। आसन्न निर्वाचनपछि हाम्रो सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछ। सरकार र निजी क्षेत्रको  आपसी सहयोग, समन्वय अनि प्रतिवद्धता यसका लागि चाहिन्छ। हामी हातेमालो गरेर देश विकासको साझा लक्ष्यमा अगाडि बढौं।’’          

मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताउनु भयो। पूर्वाधार विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो। 

मन्त्री कार्कीले भन्नुभयो, ‘‘केही समय अगाडि गरिएको एउटा अध्ययनले नेपाल कूल ग्रार्हस्थ उत्पादनमा सरकारको एक्लो प्रयासले मात्रै पूर्वाधारका लागि आवश्यक लगानी हुन सक्दैन। यसमा स्वेदशी तथा विदेशी निजी क्षेत्रको सहयोग जरुरी छ। सरकार र निजी क्षेत्रको साझा प्रयासले पूर्वाधार लगानी सजिलै बढाउन सकिन्छ भन्ने मेरो धारणा छ।’’ उहाँले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको विश्वास दिलाउनु भएको छ। 

‘‘पूर्वाधार विकास र उत्पादन वृद्धिमा यहाँहरुको महत्त्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको छ। यहाँहरुलाई थाहनै छ। देश विकासका लागि पूर्वाधार विकास र विस्तार मात्रै साध्य होइन।  ती त साधन मात्र हुन। तर, साधनको गुणस्तर भएन भने, तिनको उपयोग सहज भएन भने र जुन उद्देश्यका साथ पूर्वाधार विकास गरिएको सोको सदुपयोग भएन भने त्यसले उचित प्रतिफल दिन सक्दैन।  त्यसैले पूर्वाधारको गुणस्तर, सहज प्रयोग र पूर्ण उपयोगमा समेत ध्यान दिन म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’’

उक्त अवसरमा मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गर्नुभयो।